हेटौंडा – हेटौंडाको बुद्धचोकमा दुई वटा मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान चालक प्रहरी जवान विवेक नेपाली निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेक बहादुर कार्कीका अनुसार भ्यान चालक नेपालीलाई ६ महिनाको लागि निलम्वन गरिएको हो ।
नेपालीले मादक पदार्थ सेवन गरी भ्यान चलाएर दुर्घटना गराएकाले निलम्वन गरिएको प्रवक्ता कार्कीले बताए । नेपाली एक बर्षदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत छन् ।
नेपाली चलाएको प्र ०३ ००१ झ ०१२३ नम्बरको भ्यानले बुधबार साँझ ना ४९ प ११९ र बागमती प्रदेश ०३ ००५ प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
भ्यानको ठक्करबाट हेटौंडा–५, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ बर्षीय मधु अर्याल घाइते भएका थिए ।उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको गाडीले दुई ओटामा मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयहरु आक्रोशित बनेका थिए । आक्रोशित स्थानीयहरुले घटनास्थल र जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी नाराबाजी गर्दै पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका थिए ।