हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा रोकिराखेको ट्रकबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । गएराति सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलिले ना ६ ख ४५२० नम्बर को डिब्बा ट्रकबाट १ सय ५८ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।
ट्रकको क्याबिनबाट १२ वटा पोकामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । ट्रकको सहचालक थाहा नगरपालिका–३ गोपालीगाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए ।
ट्रकका चालक भने फरार रहेका छन् । उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर गाँजा लिएर कहाँ जान लागेको भन्ने खुलेको छैन् । फरार ट्रक चालकको खोजी कार्य र घटनाको आवश्यक थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।