प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा अटोको ठक्करबाट तीन वर्षीय बालक घाइते

२०८१ पौष ६, शनिबार ०७:४० बजे

मकवानपुर – भिमफेदी गाउँपालिका-२ भैसेस्थित त्रिभुवन राजपथ सडक खण्डमा अटो ठक्करबाट तीन वर्षीय बालक अनमोल बल घाइते भएका छन्।

पालुङतर्फबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह २२७४ नम्बरको अटोले सडक पार गर्ने क्रममा श्रीकृष्ण माध्यमिक विद्यालयमा नर्सरीमा अध्ययनरत बालकलाई ठक्कर दिएको हो। घटनामा बालकको टाउको र दाहिने खुट्टामा चोट लागेको छ।

घटनापछि विद्यालयका शिक्षक र अटो चालकले बालकलाई तत्कालै उपचारका लागि हेटौंडा अस्पताल लगेका थिए। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चुरेहिल अस्पताल (CMC), मकवानपुरमा रिफर गरिएको छ। बालकको स्वास्थ्य अवस्था हाल मध्यम रहेको जनाइएको छ।

ठक्कर दिने अटोका चालक, खोप्लाङ निवासी ३२ वर्षीय सुन्दर थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।