हेटौंडा – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले शिक्षा, स्वास्थ्य, यातायात, कृषि जस्ता क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि मनहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय तहमा मानवअधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठकमा समूहकी संयोजक बिमला गोपालीले गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरलाई ज्ञापनपत्र बुझाएकी हुन् ।
मनहरी गाउँपालिका–९ रजैयामा शुक्रबार आयोजित कार्यक्रममा किसानलाई समयमै मल, बीउबिजन समयमै वडाकार्यालयबाटै उपलब्ध गराउने ब्यवस्था गर्न माग गरिएको छ । राजमार्गमा हुने दुर्घटना समयमै पहिचान गर्न दोहोरो अभिलेख राख्ने ब्यवस्था गर्न, राजमार्गमा यात्रुहरुले खुला दिसा गरिरहेकोले सो कार्य रोक्नका लागि उपयुक्त स्थानमा सौचालय निर्माण गर्न माग गरिएको छ ।
माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रहरु दुब्र्यसनमा लागेको भन्दै रोकथामका लागि सबै माविको कक्षाकोठामा सीसी क्यामेरा राखी निगरानी गर्न पनि माग गरिएको छ । त्यस्तै नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधिको जानकारी दिनका लागि नागरिक बडापत्र राख्न पनि माग गरिएको छ ।
त्यसैगरी जंगली जनावरका कारण मानबीय क्षती बढ्दै गएकोले सो नियन्त्रणका लागि आवश्यक स्थानहरुमा विद्युतीय झड्काको ब्यवस्था गर्न पहल गर्न माग गरिएको छ । कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पालिकाको तहबाट गर्न सकिने काम तत्काल गरिने र राजमार्गको समस्या सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारी, ८ का वडाध्यक्ष नारायण उप्रेती, ७ का कावा वडाध्यक्ष नवराज सुबेदी, गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, मानवअधिकार समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।