प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशमा चार वर्षमा६९ वटा पक्की पुल निर्माण

२०७९ श्रावण २०, शुक्रबार ०३:३४ बजे

हेटौँडा – बागमती प्रदेशमा चार वर्षमा६९ वटा पक्की पुल निर्माण भएका छन्। प्रदेश सरकारको आफ्नै लगानीका ५० वटा र सङ्घीय ससर्त अनुदानको बाँकी गरी प्रदेशका विभिन्न जिल्लामा ६९ वटा पक्की पुल निर्माण सम्पन्न भएको हो।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय र मातहतको कार्यालयबाट गत आर्थिक वर्षमा १९ वटा पक्की पुल र छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले गत आवमा पक्की पुल ३५ र झोलुङ्गे पुल १२ वटा निर्माण गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा आधा मात्रै प्रगति भएको जानकारी दिए।

आव २०७५/७६ देखि आव २०७७/७८ सम्ममा प्रदेश सरकार र सङ्घीय ससर्त अनुदानको गरी ५० पुल निर्माण भएको जानकारी दिए। गत आवसम्ममा यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाबाट दुई, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट १३ वटा, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाट १२ वटा, पूर्वाधार विकास कार्यालय ललितपुरबाट ११, पूर्वाधार विकास कार्यालय चितवनबाट १२, पूर्वाधार विकास कार्यालय रामेछापबाट तीन, पूर्वाधार विकास कार्यालय नुवाकोटबाट ११ वटा र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट पाँचवटा पक्की पुल निर्माण भएको छ। 

प्रदेश सरकारको लगानीका ४६ वटा र सङ्घीय ससर्त अनुदानको ३७ वटा गरी विभिन्न जिल्लामा ८३ वटा पुल निर्माणाधीन रहेका छन्।गोरखापत्र दैनिकबाट