प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

कांग्रेसद्वारा विचलित “बागी”, चर्चित युवा “कोब्रा”

२०७९ बैशाख १८, आईतबार १४:०५ बजे

हेटौंडा – विं.सं.२०३९ सालमा जन्मिएका सुदिप राजबाहक(कोब्रा)किशोर अवस्थाबाटै राजनीतिमा चासो राख्ने गर्थे । उनले १५ बर्षकै उमेरबाट साङ्गठनिक गतिविधि सुरु गरे । उनले १४ बर्ष भन्दा बढी राजनीतिक जिवन नेकपा एमालेमा बिताए ।

विं.सं.२०७२ सालमा नेपाली कांग्रेसमा प्रवेश गरे । पार्टीको खेलकुद विभागमा रहेर काम गरे । विं.सं.२०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्य पदमा चुनाव लड्ने अवसर पाए ।

युवा जोस र जागरले भरिएका सुदिपले चुनावमा जनताको मन जिते । सो चुनावमा नेपाली कांग्रेसले उठाएको अन्य उम्मेदवार पराजित हुँदा उनी एकमात्र निर्वाचित भएका थिए ।

उनी सो वडामा कांग्रेसबाट निर्वाचित हुने दोस्रो जनप्रतिनिधी समेत हुन् । यसअघिको कांग्रेसको चुनावी मत परिणाम सुखद थिएन । राजवहाकका अनुसार आफुले चुनाव जित्नु भन्दा पहिले एक जना कांग्रेसको तर्फबाट निर्वाचित भएको बताए ।

सुदिपले पाँच बर्ष वडासदस्य पदमा रहेर वडाको सबै खाले विकासमा महत्वपुर्ण भुमिका रह्यो । उनले वडासदस्यको कार्यक्षत्र र अधिकारलाई प्रयोग गरेर वडावासीहरुको सःखदुःखमा जनप्रतिनिधिले गर्नुपर्ने अहम भुमिका निर्वाह गरे ।

हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थिती होटल सञ्चालन गर्दै आएका अमृत श्रेष्ठ सुदिप जनप्रतिनिधि हुँदा नहुँदा गरेको कामको प्रसंशा गर्छन् । उनी भन्छन,“मलाई जे समस्या परेपनि सुदिप दाईलाई भन्ने गर्छु, आजसम्म त्यस्तो नाइनस्ती भएको छैन ।”

उनी राजनीतिसंगै खेलकुद र समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । एक समय उनी एक कुसल फुटबल खेलाडी थिए । खेल खेल्ने खेलाडी मात्र भएर नहुने भएपछि खेलाडीपछि उनी खेलक्षेत्रको कुशल अविभावक बन्न पुगे । उनले विजयी युथ क्लबको नेतृत्व गरे ।

क्लबबाट खेलकुद विकास र सामाजिक क्षेत्रको काममा लागि परे । उनकै नेतृत्वमा क्लबले मोफसलका ठुलाठुला उपाधि पनि हात परिसकेको छ । त्यस्तै क्लबबाट रक्तदान, राहतसंगै कोरोना महामारीको बेलामा खाद्यन्य तथा स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

स्थानीय तहका जनप्रतिनिधिको पाँच बर्षे कार्यकाल सकिएको छ । अब स्थानीय तह निर्वाचन आउँन दुई हप्ता भन्दा कम समय बाँकी छ । चुनावको लागि अन्तिम नामावली समेत सार्वजनिक भईसक्यो । गाउँदेखि शहरको टोलटोलमा उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलोमा ब्यस्त छन् ।

त्यही उम्मेदवारहरुको भिडमा चुनाव चिह्न धारा लिएर सुदिप पनि छन् । पहिलेको चुनावमा वडासदस्य जितेका उनी यसपटक स्वतन्त्र वडाध्यक्ष उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको सुदिप बताउँछन् ।

“पहिले पार्टीले वडाअध्यक्षको उम्मेदवार मलाई अगाडी सार्यो । तर, पार्टीले एकै पदमा म बाहेक अरु दुई जनालाई टिकट दिएर पठायो । तैही भएर मैले पार्टी नै त्यागेर स्वतन्त्र वडाअध्यक्षको उम्मेदवारी दिएको हुँ,” उनले भने,“ पार्टीको उम्मेदवारसंग मेरो लडाँइ होइन, पार्टीको सिस्टमसंगको लडाँइ हो ।”

भट्ट हेर्दा लजालु स्वाभावको देखिने सुदिप बोलीमा भन्दा बढी काम विश्वास राख्छन् । उनले भने, “म चाहिने नचाहिने आस्वासन भन्दा काममा विश्वास गर्ने ब्यक्ति हो । अरु कुरा मात्र गर्छन् । म काम गरेर देखाउँछु । मेरो चुनावी एजेण्डा वडावासीलाई जनप्रतिनिधिको अनुभुती दिलाउने हो ।”

उनले वडामा विकास निर्माणका धेरै काम गर्न बाँकी रहेकोले वडाअध्यक्ष भएर बाँकी रहेको अधुरा अपुरा योजना पुरा गर्ने बताए । उनले भने,“वडावासीको आधारभुत आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने गर्छु । भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, आर्थिक उद्यमशिलता, युवा स्वरोजगार लगायत क्षेत्रलाई प्राथामिक्ता दिएर काम गर्ने योजना छ,” उनले भने ।