हेटौंडा – मकवानपुरमा पनि गैरआवसीय नेपालीलाई नेपालको नागरिकता वितरण कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार हेटौंडामा एक दम्पतीलाई गैरआवसीय नागरिकलाई नागरिकता वितरण गरेको हो।
मकवानपुरबाट पहिलो र दोस्रो गैरआवसीय नेपाली नागरिक लिनेमा अस्ट्रेलिया बस्दै आएका हेटौंडा उपमहानगरपालिका वडा नं. १ की सन्जिता बिडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । थापा दम्पतीलाई प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले नेपाली नागरिकता प्रदान गरेका हुन् ।
उनीहरु विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन् । उनीहरूले नागरिकता प्राप्त गरेपछि देश र जनताको नाममा शपथ लिएका थिए ।नेपाल सरकारले गत असोज ३० गते गैरआवासीय नेपाली संघको महाधिवेशनको अवसर पारेर गैरआवसीय नेपालीहरुलाई नेपालको नागरिकता वितरण सुरु गरेको थियो ।
गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि गैरआवसिय नेपाली नागरिकले नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको हो । नेपालको संविधान २०७२ को धारा १४ मा गैरआवसीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको छ । संविधानको यो प्रावधान नागरिकता ऐन संशोधन र नयाँ नियमाबली बनेपछि बल्ल मंगलबारबाट कार्यान्वयनमा आएको हो ।
संशोधित नेपाल नागरिकता ऐनको दफा ७ (क) मा गैरआवासीय नेपालीलाई नागरिकता सम्बन्धी प्रावधान छ । सोही दफाको उपदफा १ मा ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस दफाले सार्क राष्ट्रबाहेकका विभिन्न मुलुकमा रहेका करिब १५ लाखभन्दा बढी गैरआवासीय नेपालीले गैर आवसिय नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरेको छ । सरकारले ऐनको व्यवस्थालाई नियमावलीमा थप स्पष्ट गर्दै नागरिकता लिने प्रक्रिया र मापदण्ड निर्धारण गरेको छ । मापदण्ड अनुसार यस्तो नागरिकता लिन चाहने व्यक्तिले आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने छ ।
यस्तै, विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको र सार्क राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण पनि पेस गर्नुपर्नेछ । यस्तै, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिवद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने प्रावधानसमेत नियमावलीमा व्यवस्था गरिएको छ ।
गैरआवासीय नेपालीहरुले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सम्बन्धित देशमा रहेको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था छ । यस्तो नागरिकता लिएपछि उनीहरुले नेपालमा लगानी गर्न, सम्पत्ति राख्न, अचल सम्पत्ति किनबेच समेत गर्न पाउँने छन् । यस्तो, नागरिकता प्राप्त गर्नेले कुनै सरकारी पदमा बस्न पाउने छैनन् भने राजनीति र मतदान समेत गर्न पाउने छैनन् ।