हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री जम्कट्टेललाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले शपथसँगै पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना मन्त्री नियुक्तिसँगै मङ्गलबारनै शपथ ग्रहण गराइएको छ ।
एमालेबाट बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा मन्त्री बनेका छन् । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने थापाले जिम्मेवारी पाउने मन्त्रालय पछि तोकिने भएको छ ।
माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेल पाँच दलको ७० जना प्रदेश सभा सदस्यको समर्थनमा सोमबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
यस प्रदेशमा एमालेको २७ जना, माओवादी केन्द्रको २१ जना, राप्रपाको १३ जना, एकीकृत समाजवादीको सात जना र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।