हेटौडा – नेपाल चिकित्सक संघले हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ । संघले बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ७२ घण्टाभित्र कारबाही नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
भदौ २७ गते हेटौडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि कार्यकक्षमै एक समुहले कुटपिट गरेका थिए । सीसीटीभीमा कैद भएको कुटपिटकको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको छ ।
संघका अध्यक्ष डा.अलिन कार्कीद्धारा बिहीबार जारी प्रेस विज्ञप्तिमा थापा र विडारीमाथि आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । साउन २२ गते हेटौँडा पदमखोपरीका ४१ वर्षीय राजेश प्रधानको डेंगु परीक्षण गर्दा उनलाई पोजेटिभ देखिएपछि डाक्टरले उनलाई आराम गर्न घर पठाएका थिए ।
स्वास्थ्य बिग्रिएपछि प्रधान सोही अस्पतालमा पुनः भर्ना भएका थिए । त्यसलगत्तै प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको थियो । भरतपुर अस्पताल पुर्याइएको दुई दिनपछि भदौ २५ गते प्रधानको मृत्यु भएको थियो । उनको मृत्युपछि उपचारमा लापरबाही भएको भन्दै एक समूहले थापा र बिडारीमाथि कुटपिट गरेका थिए ।
कुटपिट गर्ने चार जना पक्राउ
जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा.प्रशान्त विडारीमाथि कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालका अनुसार हेटौंडा–१२ की रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको हो । पक्राउ पर्ने रमा मृतकको श्रीमति, रमिला छोरी, रोहन छोरा र अनुप मृतकको भतिज रहेका छन् । कुटपिटमा संलग्न अन्यको खोजी कार्य भइरहेको उनले बताए ।

