प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मुख्यमन्त्री जम्मकट्टेलले गरे पदभार ग्रहण, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

२०७९ पौष २६, मंगलबार ११:२६ बजे

हेटौंडा – नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार उनले पदभार ग्रहण गरेका हुन् ।

त्यस्तै एमालेबाट नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र राप्रपाबाट नवनियुक्त बिना बिभागिय मन्त्री उद्धब थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गह्रण गरेका छन् ।

मुख्यमन्त्री जमकट्टेलको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न विषयमा चारवटा निर्णय गरेको छ । बैठकले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताए। पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्‍याइएको थियो ।

यस्तै प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण गर्न जग्गा प्राप्तिका लागि संघीय सरकारसमक्ष पहल गर्न मुख्यमन्त्री कार्यालयका सचिवलाई ‘फोकल पर्सन’ तोक्ने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई दिइएको छ । यस्तै बैठकले संघीय सरकारसमक्ष पठाउनुपर्ने विशेष तथा समपूरक आयोजनाहरुको विषयमा समेत निर्णय गरेको छ ।