हेटौंडा – कान्तिलोकपथ सडक अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ र १७ स्थित चुच्चेखालामा सडक नबन्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । लामो समयसम्म स्तरउन्नती नहुँदा वडा नं. ६ र १७ दुबैतर्फका सडककोबिचमा ठुलाठुला खाल्डो बनेको छ । घाम लागेपछि धुलो र पानी परेपछि खाल्डोमा पानी जमेर जलमग्न हुँदा सवारी आवतजावत गर्न कठिनाई भएको छ ।
चुच्चेखोला बजारको मुख्यचोकबाट दायाँबायाँ दुबैतर्फ करिब १ सय मिटर बन्दा बढी सडक भत्किएको छ । सो स्थानमा सानाठुला गरी करिब ५० भन्दा खल्डा रहेका छन् । साघँुरो सडकमा खाल्डो बनेर पानी जम्दा आवतजावत गर्न समस्या भएको यात्रु करण गोलेले गुनासो गरे । सो सडकमा दैनिक हजारौँ सवारी गुड्ने गर्दछ ।
सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण दुई पांग्रे तथा साना सवारी साधनलाई झन बढी समस्या हुने गरेको छ । सो स्थानमा जोखिम मोलेर दुई पांग्रे तथा साना सवारी साधन चलाउँदा प्रत्येक दिन दुर्घटना हुने गरेको स्थानीय खुँवा पसल सञ्चालक मोहन तिमल्सिना बताउँछन् ।
राष्ट्रिय गौरवको आयोजना भएपनि सडक निर्माणमा कान्तिलोकपथ आयोजनाले ध्यान नदिएको र स्थानीय जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयहरु गुनासो गरेका छन् । चच्चेखोलाबाट गैरीगाउँ तर्फको सडक बनाउने बिषयमा चासो नदिएको र चौघडातर्फको सडक निर्माणको काम ढिलासुस्ती भएको स्थानीयहरु बताउँछन् ।
भत्किएका पिज टाल्ने र भत्किएका स्थानमा सडक मर्मतको लागि ठेक्क सम्झौता भएको कान्ति लोकपथ आयोजनाले जनाएको छ । स्थानीय तह चुनावपछि तिब्रगतिमा काम गुरु गरिने आयोजनाले भनेको छ । चुच्चेखोलाबाट गैरीगाउँ तर्फको सडक निर्माण स्थानीय दुई ब्यक्तिविचको विवादको कारण हुन नसेको कान्तिलोकपथ आयोजनाका एक प्रतिनिधिले बताए । उनले उक्त विवाद मिलाउने प्रयास भइरहेको बताए ।
पाँच बर्ष अगाडि एमाले, कांग्रेस, माओवादी लगायतका उम्मेदवार सडक निर्माणको लागि पहल र समन्वयकारी भुमिका खल्ने र सडक निर्माण गर्ने जनाएको काम नभएको स्थानीयले गुनासो पोखे । यसपटकको चुनावमा जसले सो स्थानमा भएको समस्या समाधानको प्रतिवद्धता जनाउँछ उसैलाई साथ दिने स्थानीयहरु देखिन्छन् ।
१७ वडामा चुनावमा आफ्नो पक्षमा ल्याउन सक्ने देखिएका एमाले र कांग्रेसका वडाअध्यक्ष उम्मेदवारहरु छन् । उनिहरुले सडक बनाउने आसवासन दिएका छन् । नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार उद्धव सत्याल आफु निर्वाचित भएको खण्डमा विवाद समाधन गरी सडक निर्माणको वातावरण मिलाउने बताए । एमालेका वडाअध्यक्षका उम्मेदवार लक्ष्मण खुलालले त्यहाँ समस्याको बिषयमा छलफल गर्न तयार रहेको बताए ।
कान्तिलोपपथ बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघिय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग मध्ये एक हो । यसमार्गलाई राजधानीसँग तराई जोड्ने वैकल्पिक सडकको रुपमा पनि लिइएको छ । उक्त मार्गको उद्घघाटन २०१४ माघ ९ गते गरिएको थियो । २०१६ साल जेठ महिनामा ट्रयाक खुलेपछि राजा महेन्द्र आफै गाडी हाँकेर काठमाडौंबाट हेटौडा गएको थिए । सडकको आवश्यकता महसुस गर्दै आर्थिक वर्ष २०६५/६६ बाट सडक निर्माण सुरु गरिएको थियो । उक्त सडक निर्माण शुरु भएको ६३ बर्ष भयो अहिले सम्म निर्माण सम्पन्न भएको छैन ।