हेटौंडा – नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले साफ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टोली घोषणा गरेका छन् ।
एनेसेले घोषणा गरेको टोली मकवानपुरका अन्जन विष्ट, आयुष घलान र विमल पाण्डे परेका छन् । त्रिभुवन आर्मी फुटबल क्लबका नियमित सदस्य पाण्डेले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
अन्जन र आयुष राष्ट्रिय टोलीका नियमित सदस्य हुन्, तर पाण्डे पटक पटक बन्द प्रशिक्षणमा स्थान बनाए पनि राष्ट्रिय टोलीको अन्तिम २३ भित्र स्थान बनाउन सकेका थिएनन् ।
मकवानपुरे फुटबल समर्थकहरु पाण्डेले राष्ट्रिय टोलीबाट डेब्यू गरेको हेर्ने प्रतिक्षामा छन् भने मकवानपुरका तीनै खेलाडी एकैपटक राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिएको पनि । त्यसको लागि भने आगामी दिनमा हुने खेलको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
१४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिपका लागि घोषणा गरेको टोलीमा डिफेन्डर विमलसहित सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् ।
गोलकिपरमा पहिलो नम्बरमा किरण चेम्जोङले स्थान बनाउँदा दीप कार्की र विशाल श्रेष्ठले पनि अटाएका छन् । डिफेन्डरमा विमल सहित सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्तले स्थान बनाएका छन् ।
साफमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । जसमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा पहिलो पटक च्याम्पियनसिप फुटबलमा सहभागी हुन लागेका हुन् ।
फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले सहभागिता जनाउने छैनन् । भारतमा हुन लागेको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ । उद्घाटन खेलमा साविक उपविजेता समेत रहेको नेपालले कुवेतको सामना गर्नेछ। खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेल असार ९ गते आयोजक भारत र तेस्रो तथा समूह खेल असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ । साफ अघि नेपालले जुन १५ मा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।