प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौँडा अस्पतालमा विज्ञको अभावमा थन्किए उपकरण

२०८० चैत्र २३, शुक्रबार ०९:०४ बजे

हेटौँडा – हेटौँडा अस्पताललाई दाताले उपलब्ध गराएको मुटुको परीक्षण गर्ने उपकरण थन्किएर रहेका छन्। बागमती प्रदेश सरकार मातहतको सो अस्पतालले मुटुरोगसम्बन्धी चिकित्सकको व्यवस्था गर्न नसक्दा अस्पतालको गोदाममा मुटुरोगको परीक्षण गर्न दाताले अनुदानमा उपलब्ध गराएको करिब एक करोड रुपियाँ बराबरका उपकरण थन्किएका हुन्।

रोटरी क्लबले ग्लोबल ग्रान्ड अन्तर्गत उपकरण सहयोग हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा उपलब्ध गराएको थियो । रोटरी क्लब अफ मकवानपुरको समन्वयमा करिब आठ महिनाअघि ती उपकरण उपलब्ध गराइएको हो । रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२४/२५ का अध्यक्ष अनिल अग्रवालले हेटौँडा अस्पतालको स्तरोन्नतिमा समेत सहयोग पुग्ने गरी लामो प्रयासमा मुटुको परीक्षण गर्ने उपकरण उपलब्ध गराइए पनि प्रयोगमा आउन नसकेको जानकारी दिए ।

उनले पछिल्लो समय हेटौंडा र आसपासका क्षेत्रमा मुटुका रोगी बढ्दै गएको र उनीहरूलाई हेटौंडामा नै परीक्षण र उपचारमा सहज होस् भनेर उपकरण प्रदान गरिएको बताए । उनले भने, “अस्पतालले मुटुसम्बन्धी रोगको चिकित्सक समयमा व्यवस्था गर्न सकेन, अस्पताललाई चिकित्सक व्यवस्था गरी उपकरण प्रयोगमा ल्याउन पटक पटक आग्रह गरे पनि सुनुवाइ भएको छैन ।”

यसैबिच रोटरी क्लब अफ मकवानपुरले हेटौँडा अस्पताललाई थप उपकरण उपलब्ध गराएको छ । क्लबले मङ्गलबार आयोजित एक कार्यक्रममा ग्लोबल ग्रान्ड सहयोग अन्तर्गत सात लाख रुपियाँ बराबरका दुई थान इसिजी मेसिन अस्पताललाई हस्तान्तरण गरेको हो । इसिजी मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले मुटु परीक्षण गर्ने उपकरण अस्पतालमा रहेको आफूले अहिले जानकारी पाएको बताउँदै छिट्टै मुटुको परीक्षण अस्पतालमा गर्ने व्यवस्था गर्न प्रयास गर्ने बताएका थिए । गोरखापत्र दैनिकबाट