प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा सरकारविरूद्ध राप्रपाको राँके जुलुस

२०७९ असार १७, शुक्रबार १४:३८ बजे

हेटौंडा – सरकारको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले हेटौंडामा राँके जुलुस निकालेको छ। शुक्रबार साँझ हेटौंडाको बुद्धचोकमा उनीहरूले सरकारविरूद्ध नारा लगाउँदै राँके जुलुस निकालेका हुन्।

देशभरका ७७ वटा जिल्लाबाट बुझाएको २२ बुँदे ज्ञापनपत्र र हेटौंडा उपमहानगरपालिकालाई बुझाएको ६ बुँदे ज्ञापनपत्रको कार्यन्वयन गराउन दवाब स्वरुप राँके जुलुस आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति मकवानपुरले जनाएको छ । उनीहरुले राँके जुलुस प्रदर्शनको क्रममा नालायक सरकार राजिनामा दे, प्रदेश सरकार खारेज गर, मुल्य बृद्धि फिर्ता गर, नालायक सरकार होसियार लगायतका नारा लगाएका थिए ।

उक्त जुलुसलाई नियन्त्रण गर्न प्रहरी पुगेको थियो। हेटौंडाको बुद्धचोकमा प्रर्दशनकारी र प्रहरीविच सम्साघम्सी समेत भएको थियो । उनीहरुले तत्काल नेपाल सरकार र हेटौंडा उपमहानगर समक्ष राखेको माग पुरा गर्न भनेका छन् । 

विरेन्द्र बिरविक्रम शाहको शालिक मर्मत सम्भार तथा बाटिका ब्यवस्थापन गरी सार्वसाधरणको लागि खुल्ला गरिनु पर्ने, हुप्राचौरमा बन्ने ब्यवसायीक भवन ठेक्का सम्झौताको भवन हेटौंडा अस्पतालमा निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने, हेटौंडा अस्पताललाई ५ सय शैयाको बनाउनु पर्ने, महिला पुरुषमा हुने विभिन्न प्रकारको क्यान्सर जन्य रोगको निःशुल्क परिक्षण गरिनुपर्ने लगायतका माग राखेका थिए । यस विषयमा हेटौंडा उपमहानगरले नजरअन्दाज गरे कडा आन्दोलन गर्ने राप्रपा मकवानपुरले चेतावनी दिएको छ ।