हेटौंडा – कुरा हो, असोज १६ गते शनिबार फूलपातीको दिनको । दशैंमा माइतीघर आउँदा ललितपुर महानगरपालिका–१ की कृष्मा अधिकारीले काठमाडौंबाट हेटौंडा आएको भाडा एक हजार दुई सय तिरिन् । घर फर्कंदा काठमाडौंको बल्खुसम्म पुगेको भाडा तिर्नु पर्यो एक हजार ।
त्यस्तै, मकवानपुरगढी–२ का भक्तबहादुर गोले पनि काठमाडौं बल्खुबाट सुमो चढेर हेटौंडा आएको एक हजार भाडा तिर्नु पर्यो । काठमाडौंमा ग्रिल उद्योगमा काम गर्ने उनी दशैंको पूर्णिमाको दिन फर्किदा भाडा तिर्नु पर्यो एक हजार दुई सय ।
दशैंमा सुमो तथा बस व्यवसायीलाई ‘साधुलाई सुली चोरलाई चौतारो’ भने जस्तै भो । हेटौंडा–काठमाडौंको भाडादर ६ सय ५० रुपैयाँ मात्रै हो । तर, उनीहरुले प्रतियात्रु एक हजारदेखि १३ सयसम्म असुले । यसो किन गरेको भन्ने प्रश्नमा सुमो ब्यवसायी भन्छन्–एकतर्फी खाली चलाउनुपर्छ ।
अब तिहार र छटपर्वसंगै निर्वाचन पनि आउँदैछ । कृष्मा तिहारमा दाजुभाइलाई टीका लगाउन माईतीघर आउँदैछिन् । उता भक्त पनि दिदीबहिनीको टीका थाप्न र चुनावमा भोट हाल्न गाउँ आउँदैछन् ।
दशैंमा दोब्बर भाडा तिर्न बाध्य भएका दुई पात्र फेरि दोब्बर तिर्नुपर्ने चिन्तामा छन् । उनीहरु भन्छन्, ‘हेटौंडा आउँदा फेरि पनि हजार–बाह्रसय भाडा तिर्नु पर्ने भो !’
यी त भए प्रतिनिधि पात्र मात्रै । कृष्मा र भक्त जस्तै हजारौँ यात्रु हजारौं जो ठगीमा पर्ने चिन्तामा छन् भने ठगीमा पर्न तयार भएर तिहार, छट र मंसिर ४ कुर्दैछन् ।
अझै यात्रु ठग्ने क्रम जारी
यात्रुबहाक सवारीको दसैंदेखी सुरु भएको यात्रु ठगी गर्ने धन्दा अझै जारी छ । बनेपाबाट मुग्लिन हुँदै हेटौंडाको दुरीको करिब २४५ किलोमिटर छ । जसको सरकारले तोकेको दर अनुसार भाडा ७५० देखि ७६० रुपैयाँ हुन्छ ।
तर, बनेपाबाट हेटौंडा आएका हेटौंडा उपमहानगरपालिका–२ का साधुराम तिमल्सिनालाई बसले १ हजार १०० रुपैयाँ भाडा असुले । भाडा यति महँगो चाहीँ किन ? बस ब्यवसायी भने, ‘तपाईं जाने हो भने मौलापुरसम्मको भाडा तिर्नुपर्छ, हेटौंडासम्मको टिकट पाइदैन ।’
चाडपर्व लक्षित प्रभावकारी अनुगमन शुन्य
मकवानपुरमा पुर्वपश्चिम र हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्डमा हजारौँ यात्रुवाहक सवारी गुड्छन्, तर प्रभावकारी अनुगमन भने भएको छैन । सञ्चार माध्यम आउनका लागि चेकजाँच गरेजस्तै गर्छन् सम्बन्धित नियामक निकाय तथा प्रहरी । चेकजाँचलाई निरन्तरता भने दिदैन ।
प्रहरीको कारवाही आँखामा छारो हाल्ने
यात्रुवहाक सवारी व्यवसायीहरुको यात्रु ठक्ने पुरानो रोग हो । बर्षौदेखि चाड्पर्वमा कृतिम अभाव सिर्जना गरेर यात्रु ठग्ने गरिएको छ । तर, प्रहरीले कारवाही जनतालाई आँखामा छारो मात्रै गर्दछ ।
यसअघि दसैंमा यात्रुहरु १ हजारदेखि २ हजारसम्म भाडा तिरेर हेटौंडा–काठमाडौं आउने, जाने गरे । त्यति बेला प्रहरीको मुखदर्शक बन्यो । ‘दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई’ भने त्यस्तै दशैं सकिएको एक हप्तापछि पाँच जनालाई पक्राउ गरेको प्रहरीले विज्ञप्ती सार्वजनिक गरेको थियो ।
यसो भन्छन् ट्राफिक प्रहरी प्रमुख थापा
जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाले यात्रुहरुले प्रहरी समक्ष उजुरी गरे मात्रै ठगी नियन्त्रण गर्न सकिने बताए । यात्रुहरुले उजुरी नगरेकै कारण अनुगमन र कारवाही गर्न समस्या भएको उनले बताए । ‘हामी भिमफेदी र भैसेंमा नियमित चेकिङ गछौँ । सुमोलाई भाडा कति दिनुभयो ? सोध्धा बताउँनै चाहानु हुन्न, बोल्दै नबोलेपछि हामी कसरी कारवाही गर्न सक्छौँ,’ उनले भने ।
यस प्रकारको ठगी नियन्त्रण गर्न प्रशासनको दायित्व जति छ, त्यति नै स्थानीय राजनीतिज्ञ तथा आफुलाई समाजसेवीहरुको दायित्व रहेको जानकारहरु बताउँछन् । तरपनि आफ्नै नागरिक दैनिक ठगीमा परिरहदा उनीहरु भने दुरदराजको सपना देखाएर भोटमा माग्नमै ब्यस्त छन् ।
केही बर्षअघि नारायणी यातायात ब्यवसायी संघले एकतर्फी खाली आउनुपर्ने सुमोलाई १० लिटर डिजल उपलब्ध गराएर बढी भाडा लिने कार्यको नियन्त्रण गर्ने प्रयास गरेको थियो । तर, त्यो कार्यले चाडबाडमा निरन्तरता पाउन सकेन ।