मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले पाँच वर्षे सहयात्रामा साथ सहयोग प्रदान गर्ने सम्पूर्णमा धन्वाद व्यक्त गरेका छन् । जिसस मकवानपुरद्धारा सोमबार आयोजित स्थानीय तह समन्वय बैठकमा उनले सबैको साथ र सहयोगबाट जिससले काम गर्न सकेको भन्दै यसका लागि सबैलाई धन्यवाद व्यक्त गरे ।
उनले स्थानीय तहलगायत सबै सरो कारवालाको साथ र सहयोग साथै सकारात्मक भुमिकाका कारण स्रोत साधनको अभावमा पनि थुप्रै काम भएको भन्दै केहि अधुरा काम जस्तै सरुवा रोग अस्पतालका लागि रकम विनियोजन गरेर पनि काम अगाडी बढाउन नसकेकोमा दुख व्यक्त गरे । यस्तै उपप्रमुख भगवती पुडासैनीले स्थानीय तहबाट सकारात्मक सहयोग प्राप्त भएको बताए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले वितेको ५ वर्षमा जिसस मकवानपुरले अभिभावकको भुमिका निर्वाह गरेको बताइन् । स्थानीय तहका प्रमुख÷उप्रमुख, प्रमुख प्रशासकिय अधिकृतलगायत सहभागिहरुले मकवानपुरको समृद्धि र विकासकालागि जिसस मकवानपुरले मार्गदर्शकको रुपमा भुमिका निर्वाह गरेको बताएका थिए । बैठकमा थाहा नगरपालिकाका मेयर लबशेर विष्टले जिससले पारदर्शी र सहयोगिको भुमिका निर्वाह गरेको बताए । जिससबाट सधैं स्थानीय तहलाई सकारात्मक उर्जा प्रदान भएको भन्दै वितेको ५ वर्षमा स्थानीय तहलाई सबल र सक्षम बनाउनमा जिससको भुमिका प्रशंसनिय रहेको बताए । यस्तै थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले हरेक क्षेत्रमा जिससबाट पक्षपात रहित साथ र सहयोग प्राप्त भएको बताए । “हामी फरक दलबाट निर्वाचित भएपनि कहिल्यै हामीले त्यस्तो महशुस गरेनौं ।” उनले भने ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जिससको भुमिका सहजकारी र सन्तोषजनक रहेको बताए । स्थानीय तहमा कतिपय समस्याहरु आउँदा त्यसको समाधानका लागि जिससले महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाई थियो । यस्तै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससले सधैं अभिभावको भुमिका निर्वाह गरेको बताए । समन्वय र सहजिकरणका साथै जिससलाई अधिकार थपेर जिल्लाकै अभिभावकको रुपमा विकास गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले अनुगमन र समन्वयमा जिसस मकवानपुरले अब्बल काम गरेको भन्दै धन्यवाद दिइन् । कैलाश गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले जिससबाट अनुगमन लगायत विकास निर्माणमा सहजिकरण हुनुका साथै स्थानीय तहलाई सचेत बनाएको बताइन् । हरेक क्षेत्रमा जिससबाट सहयोग प्राप्त भएको उनको भनाई थियो । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाले प्राप्त अधिकार अनुसार जिसस मकवानपुरले प्रभावकारी काम गरेको बताइन् । जिससबाट सधैं उपर्युक्त दिशा निर्देश हुनुका साथै समन्वय प्राप्त भएको उनको भनाई थियो । उनले देशका अन्य जिससको तुलनामा जिसस मकवानपुरले अब्बल काम गरेको समेत उनले बताइन् ।