प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

२०८१ श्रावण ५, शनिबार १७:४० बजे

हेटौँडा - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार एक समारोहको आयोजना गरी एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा बिद्यालयलाई सम्मान गरेको छ।

कार्यक्रममा जिल्लाका ३७ विद्यालयका २ सय ५७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। यी सबै विद्यार्थीहरूले एसईई परीक्षामा ३.६ भन्दा माथिको जीपीए हासिल गरेका थिए।

४.० जीपीए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा रितिका छत्कुली र छात्रतर्फ ३.९५ जीपीए नतिजा हासिल गरेका सरस्वती विद्या मन्दिर इङ्लिस बोर्डिङ्ग स्कूलका लखिन्द्र मुखिया विनलाई विशेष सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा बालजागृती बोर्डिङका ३४ जना, आधुनिक राष्ट्रिय माविका ३० जना, नवोदय शिशु सदनका २२ जना, भुटान देवी माविका १५ जना, ज्ञानदिप माविका १५ जना, हेटौँडा एकेडेमीका ८ जना लगायत अन्य विद्यालयका विद्यार्थीहरू रहेका थिए।

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले समग्र देशमा एसईईको नतिजा कमजोर रहेको अवस्थामा पनि मकवानपुरको नतिजा सन्तोषजनक रहेको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो योग्यता र रुचि अनुसार उच्च शिक्षाको क्षेत्र छनौट गर्न सुझाव दिए।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्थानीय सरकारले शिक्षा सुधार योजनासहित अगाडि बढिरहेको जानकारी दिइन्। उनले शिक्षामा राजनीतिकरण नगरिने प्रतिबद्धता व्यक्त गरिन्।

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको सभाध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। समारोहमा प्याब्सन बागमती प्रदेशका अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डका प्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायत विभिन्न शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस वर्षको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट कुल ५ हजा ९ सय २५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ हजार १ सय ६१ विद्यार्थी उत्तीर्ण भएका छन् भने ३ हजा ७ सय ४६ विद्यार्थी अनुत्तीर्ण भएका छन्।