हेटौंडा – मकवानपुरबाट स्रोत नखुलेको १० लाख ३५ हजार २४० रुपैयाँसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाँपालिका–९ की कल्पना घलान र कैलाश गाउँपालिका–१ बस्ने ५३ वर्षीय सानुकान्छा योन्जनलाई पक्राउ गरेको हो।
मनहरी–९ खराङगस्थित कल्पनाको घरमा जाँचका क्रममा कोठामा राखेको मधेश प्रदेश ०३–०२३ प ३१७२ नंबरको मोटरसाईकलको सिटमुनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद भएको मध्ये भारतिय रुपैया १ लाख ९८ हजार ९ सय र नेपाली रुपैया ७ लाख १७ हजार रहेको छ ।
प्रहरीका अनुसार सानुकान्छा लागुऔषध मुद्धाका फरार प्रतिबादी समेत हुन् । उनलाई प्रहरीले २०७७ फागुन २३ गतेदेखि लागुऔषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम सहित पक्राउ गरेको थियो । घटनाको विषयमा थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।