हेटौंडा – मकवानपुरमा लाठ्ठी प्रहारबाट एक जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नं.६ चौकीटोलमा स्थानीय तोक बहादुर तामाङले सुर्य बहादुर मोक्तानलाई लाठ्ठी प्रहार गरी घाइते बनाएका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार दिउँसो सुर्य बहादुर र तोक बहादुरबीच सामान्य विषयमा विवाद भएको थियो । विवाद क्रममा ७४ बर्र्षीय तोक बहादुरले ५४ बर्षीय सुर्य बहादुरलाई लाठ्ठीले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते सुर्य बहादुरको टाउको र बाया हातमा चोट लागेको छ । उनको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने तोक बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।