प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको कर्रा खोलामा डुबेर मृत्यु भएका तीन बालकको सनाखत

२०७९ आश्विन ७, शुक्रबार १४:३५ बजे

हेटौंडा – हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीनजना बालकको सनाखत भएको छ ।

डुबेर मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १५ का १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार शुक्रबार साँझ हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नागदहस्थित कर्रा खोलामा तीनै जाना बेपत्ता भएका थिए । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा नागदहकै किनारमा मृत अवस्थामा भेटिएको हो ।

उनीहरूको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।