हेटौंडा – मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा भएको राष्ट्रिय औद्योगिक व्यापार महोत्सव-२०७९ सोमबारबाट सकिएको छ । महोत्सवमा कृषि ज्ञान केन्द्र चितवनको सहयोग र मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखाको संयोजनमा संचालित स्थानीय एवम् रैथानेबाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टल राखिएको थियो ।
माघ ११ देखि २३ गतेसम्म संचालन भएको महोत्सवमा मकवानपुरगढी गाउँपालिकाका स्थानीय एवम् रैथानेबाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टलबाट विभिन्न बाली तथा वस्तुहरू गरि ८० हजार भन्दा बढीको कारोबार भएको अपाङ तथा विपन्न कृषि सहकारी संस्थाका सचिव कृषण बहादुर घलानले जानकारी दिए ।

मकवानपुरगढीमा उत्पादित विभिन्न वडाबाट संकलन गरिएका बाली तथा वस्तुहरू संकलन तथा प्रशोधन गरिएका उपजहरू कालिखोला कोदोको पिठो, मिठेरतिते फापरको पिठो, स्थानीय मकैको पिठो, खलेको कोदो, कोदोको नमकिन, फापरको बिस्कुट, मस्याङ, सिमी, भटमास, धानकोदो, जुनेलो, लटटे, अदुवा, बेसार, पिँडालु, अमला, डोको लगायतका वस्तुहरू बिक्रीमा राखिएको थियो ।

स्थानीय एवम रैथानेबालीको संरक्षण, सम्वर्द्वन र प्रवर्द्वन गर्न र यसको महत्व बारे प्रचार प्रसार र स्थानीय उत्पादनको बजारीकरण गर्ने उदेश्य सहित संचालन गरिएको प्रदर्शनी स्टल अवलोकन गरि जानकारी लिने दर्शक तथा अवलोकनकर्ताहरुलाई मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले धन्यवाद ब्यक्त गरेका छन् ।
माग बढ्दो
स्थानिय स्तरमा उत्पादित बस्तुहरु स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी भएकाले पछिल्लो समय शहरी भन्सामा स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरुको प्रयोग र माग बढ्दै गएको चौधरीले बताए । उनले प्रर्दशनीमा सबैभन्दा बढी फापरको पीठो, कोदोको पीठो, जुनेलो उल्लेख्य बिक्री भएको र बजारमा माग पनि उत्तिकै रहेको बताए ।

चौधरीका अनुसार मकवानपुरगढीमा कोदो, धानकोदो, मकै, बेसार, अदुवा लगायत बालीको राम्रो उत्पादन हुने गरेको छ । बजारमा पछिल्लो समय जुनेलो र फापरको माग अत्याधिक बढेपनि मकवानपुरगढीमा त्यसको उत्पादन कम हुने गरेको उनले बताए । बजार प्रवद्र्धनसंगै उपभोक्ताको मागलाई मध्यनजर गर्दै कृषकको आय बढाउन रैथानेबालीको प्रवर्द्वनमा स्थानीय तहले लगानी बढाउनु पर्ने उनले बताए ।