प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढी गाउँपालिका बालमैत्री घोषणा, ५१ सुचकमा नेपालकै दोस्रो

२०७८ चैत्र १२, शनिबार १३:२३ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासनको सबै सूचकहरु पूरा गरी जिल्ला सम्वनय समिति मकवानपुर र बागमती प्रदेश सरकारको अनुगनम तथा अनुमतिमा शनिबार गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भएको हो ।

पालिकाले ५१ वटा बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी स्थानीय बालमैत्री शासन लागू भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्य र अर्थ समितिको सभापति तथा प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दहाल, प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको सहभागीतामा मकवानपुरगढी गाउँपालिकालाई स्थानीय बालमैत्री शासन लागू भएको गाउँपालिका घोषणा गरीएको हो ।

गाउँपालिकाले ५ वटा मुख्य सूचक भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर पालिका भित्र बालमैत्री शासन लागू गरेको हो । बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संस्थागत विकास मुख्य सूचक रहेका छन् । बालमैत्री घोषणा आवश्यक ५१ वटा सूचकहरुमा ४० वटामा शतप्रतिशत र बाँकी ११ वटा सुचकमा ९९.७५ प्रतिशत नतिजा हासिल गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले बताए । 

आर्थिक बर्ष २०७६–०७७ को बार्षिक बजेट नीति तथा कार्यक्रममा गाउँपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अबलम्बन गर्ने निर्णय गरेको थियो । त्यसपछि गाउँपालिकाले २०७७ माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको लागि गाउँपालिकास्तरमा हस्ताक्षर गर्दै सामुहिक प्रतिवद्धता गरेको थियो ।

गाउँपालिकाको ८ वटै वडामा टोल, विद्यालय, वडा तथा पालिका स्तरमा बाल समुहहरुको गठन तथा क्रियाशिलतालाई तिब्र बनाएको थियो । आर्थिक बर्ष २०७७–७८ को बार्षिक बजेट नीति तथा कार्यक्रममा २०७८ को मंसिरभित्र बालमैत्री घोषण गर्ने निर्णय गरेको थियो । त्यस्तै आ.ब. ०७८–७९ को नीति तथा कार्यक्रममा,“बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान” शुरु गरी यही फागुन २९ गते गाउँपालिकाको ८ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो ।

हाल गाउँपालिकामा १०३ वटा आधारित र १४ वटा मसुदायमा आधारित बालविकास केन्द्र संचालनमा रहेको अध्यक्ष  हुँमागाईंले बताए । १०३ वटा बाल समुहहरु, वडा र गाउँपालिका बालसमुह सञ्जाल ९ वटा गरी पालिकाभित्र ११२ वटा बालसमुहमा १७ सय ६२ बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको उनले बताए । बालमैत्री स्थानीय कार्यान्वयन तथा दिगोपनाको लागि वडास्तरको लगानी योजना र पाँच बर्षे रणनितिक योजना बनाइएको उनले बताए । गाउँपालिकामा ३९ सामुदायिक र १ संस्थागत गरी ४० वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् भने ४० वटा विद्यालयमा आधारित र १४ वटा समुदायमा आधारित बालविकास केन्द्र सञ्चालनमा रहेको अध्यक्ष हुँमागाईंले बताए । 

घरधुरी सर्वेक्षण २०७७ अनुसार गाउँपालिकामा ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका गरी कुल ८ हजार २९३ बालबाललिका रहेका छन् । ५ हजार ३ घर धुरी रहेको गाउँपालिकामा महिला १२ हजार ६२ र पुरुष १३ हजार ४३ गरी कुल जनसंख्या २५ हजार १०५ रहेको छ ।

बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति एवं बालमैत्री स्थानिय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७०, बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८, स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ दफा १२ को (ग) बमोजिम बालमैत्री स्थानीय शासन अवधारणाको अवलम्बन गरेर कार्यान्वयनमा ल्याएको छ । नेपालले अन्तराष्ट्रिय बालअधिकार महासन्धी १९८९ लाई २०४७ भाद्र २९ गते अनुमोदन गरेको थियो । त्यसपश्चिात नेपाल सरकारले बालअधिकारलाई संस्थागत गर्नका लागि बालअधिकार ऐन २०७५, नेपालको संविधान २०७२ को भाग ३ मैलिक हक धारा ३९ मा कानुनी नीतिगत व्यवस्था गरेको थियो । सोही अनुरुप सरकारले नेपालका सबै स्थानीय तहलाई सन २०३० सम्ममा बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।

नेपालमा हालसम्म मकवानपुरगढीसहित मनहरी, बकैया र रम्भा गाउँपालिकामा बालमैत्री शासन लागु भएको छ । मकवानपुरगढी नेपालको चौथो, बागमती प्रदेशको तेस्रो र ५१ वटा सुचकमा नेपालकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका हो । यसअघि ५१ वटा सुचक पुरा गरी पाल्पाको रम्भा गाउँपालिकाले बालमैत्री घोषणा गरेको थियो । त्यस्तै मकवानपुरको मनहरी र बकैयाले ३९ वटा सुचकमा बालमैत्री घोषणा गरेको थियो ।