हेटौंडा – मकवानपुर प्रहरीले भिमफेदी गाउँपालिका वडा नं.२ भैसे चेकपोष्टबाट १५ केजी १२० ग्राम चरेससहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गापा–८ का ३१ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।
पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२—०२० प ८८३३ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा मोटरसाइकल चालक तामाङले बोकेको झोलामा प्लाष्टिकमा प्याक गरेको चरेस फेला परेको प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
उक्त लागुऔषध, मोटरसाइकल सहित तामाङलाइ नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।