प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मानव बेचबिखनमा संलग्न हेटौंडाका लामालाई कारागार चलान

२०७८ चैत्र ११, शुक्रबार ०५:४५ बजे

हेटौंडा – मानव बेचबिखन तथा ओसार पसार उद्योग कसूरमा संलग्न आरोपमा पक्राउ परेका हेटौंडाका मोति लामालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । हेटौडा उपमहानगरपालिका–१९ घर भई काठमाडौंमा डेरामा बस्दै आएका ३९ वर्षीय लामाले आर्थिक प्रलोभन देखाएर मृगौला झिक्न दुईजनालाई भारत लैजान लागेको भन्दै प्रहरीले फागुन १६ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार लामाले मृगौला झिक्न भारत लैजान तयारी अवस्था राखेका दुई जनालाई प्रहरीले काठमाडौं माछापोखरी स्थित होटल न्यू दक्षिणकालीबाट उद्धार गरको थियो । “तपाइँहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मृगौलाहरु हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक पर्दैन, ८ लाख बराबरको मोटो रकम पनि हात पर्छ” भन्दै आर्थिक प्रलोभन देखाएको लामामाथि प्रहरीको आरोप छ ।

घटनाको सम्बन्धमा लामा उपर फागुन १८ गते मानब बेच बिखन तथा ओसार पसार उद्योग कसूर मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालय काठमाण्डौमा पठाइएको थियो । सरकारी वकील कार्यालयबाट काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गराए थुनछेक बहस गरेको थियो । थुनछेक बहस पश्चात चैत १० गते जिल्ला अदालतले लामालाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।