हेटौंडा – वागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग दिवस कर्मकाण्डी रुपमा मनाएको छ । ‘‘औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार’’ भन्ने नारा तय गरेर आठौं उद्योग दिवस मनाएको हो । सीमित संचारकर्मीलाइ मात्र खवर गरेर मनाइएको दिवसकै क्रममा उद्योग प्रशासनसँग सम्वन्धित अनलाइन सफ्टवेयर पनि संचालनमा ल्याएको छ ।
वागमती प्रदेश उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । उद्योग दिवस केवल औपचारिकता पूरा गर्ने काममात्र गरिएको सहभागी उद्योगीको गुनासो रहेको थियो । औद्योगिक प्रतिष्ठानलाई सहयोग गर्ने नीति प्रदेश सरकारले हालसम्म ल्याउन सकेको छैन । संघीय नीति अनुसार नै औद्योगिक क्षेत्रका उद्योगहरु संचालन भइरहेको र तीनै तहका सरकारले औद्योगिक प्रतिष्ठानका तथ्यांक राखेका छैनन् र हचुवामा चलेका छन् ।
उद्योग परिसंघ वागमती प्रदेश उपाध्यक्ष लेखराज पोखरेलले प्रदेश सरकारले पूर्बाधारको क्षेत्रमा सिन्को भाँच्ने काम पनि नगरेको तर, नारामा अहिल्यै समृद्धि ल्याउने गरी हावादारी कुरा गरेको गुनासो गरे । कोभिड–१९ महामारीको प्रभाव र रसिया युक्रेन युद्धका कारण कतिपय उद्योगले कच्चापदार्थको अभाव झेल्न बाध्य छन् । प्रदेश सरकारले लगानीमैत्री नीति बनाउन पनि सकेन र औद्योगिक क्षेत्रमा पूर्बाधारका काम गर्न पनि सकेको छैन ।
स्थानीय उद्योगी व्यवसायीले पछिल्ला दिनमा देखापरेको आर्थिक मन्दीका कारण सबै प्रकारका औद्योगिक प्रतिष्ठान धरासायी बन्दै गएकोमा गुनासो गरेका छन् । बैंकको चर्को व्याजदर, तरलता अभावका कारण उद्योगहरु बन्द गरेर सडकमा उत्रनु पर्ने बाध्यता आएको उद्योगीको गुनासो छ । नेपाल सरकारले बिश्व ब्यापार संगठन, दक्षिण एसियाली क्षेत्रयी ब्यापार संगठनका प्रस्तावमा हचुवाको भरमा हस्ताक्षर गर्दै आएको छ ।
औद्योगिक प्रतिष्ठानहरु स्थापनाका लागि निकै तामझाम सहित संरचनाको शिलान्यास मात्र गर्ने तर, उत्पादनमूलक काम नगर्ने क्रम बृद्धि हुँदै गएका कारण थप समस्या भएको हेटौंडाका उद्योगी व्यवसायीले वताएका छन् । सरकारको गलत नीति कै कारण भएका उद्योग सबै धरासायी बन्दै गएको र लगानीमैत्री वातावरण बन्न नसकेको आम उद्योगीको गुनासो रहेको छ ।
कोभिड–१९ को बिश्वब्यापी असर र रुस–युक्रेन युद्धका कारण कच्चापदार्थको मूल्यबृद्धि भएकोले हेटौंडाका अधिकांश औद्योगिक प्रतिष्ठानले आफ्नो उत्पादन क्षमताको ५० प्रतिशतसम्म कटौती गरेको उद्योग संघ मकवानपुरले जनाएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा एक सय भन्दा बढी औद्योगिक प्रतिष्ठान संचालनमा रहेका छन् भने हेटौंडाको मयुरधापमा दोस्रो औद्योगिक क्षेत्र स्थापनाको काम कछुवाको गतिमा भइरहेको छ ।