प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा तीनपांग्रे सवारीलाई स्टिकर

२०७९ श्रावण १९, बिहीबार १५:२० बजे

हेटौंडा – हेटौंडा बजारमा देखिएको सवारी साधनको चाप व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीनपांग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरेको छ । उपमहानगरले बिहीबारबाट नगर क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त तीनपांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको हरियो स्टिकर प्रदान गर्न सुरु गरेको हो ।

उपमहानगरका प्रवक्ता सवीन न्यौपानेका अनुसार गत असार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँगको पटकपटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले स्टिकर अभियान सञ्चालन गरेको हो ।

अभियानको उद्घाटन हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले तीनपांग्रे सवारीमा स्टिरक टाँसेर सुरुवात गरेकी हुन् । स्टिकर टाँसने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिबराज चौलागाई, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक किरण बज्राचार्य सहितको उपस्थिती रहेको थियो ।

२०७६ पुसको ७ गतेको बैठकबाट हेटौंडा उपमहानगर क्षेत्रमा थप तीनपांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । निर्णयपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति (परमिट) लिएर हेटौंडा बजार क्षेत्रमा अनधिकृत रुपमा सञ्चालन भइरहेका तीनपांग्रे सवारीसाधनलाई निषेध गर्ने गरी उपमहानगरपालिका अगाडि बढेको अवश्था थियो। स्टिकर प्रदान गरेसँगै अब हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन अनुमति लिएका तीन पांग्रे सवारीसाधन बाहेक अन्यलाई निषेध गरिने तयारी उपमहानगरपालिले गरेको छ ।