हेटौंडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमाले मकवानपुरको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको एमाले दुबै प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभाका लागि सम्भावित ८ जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।
क्षेत्रिय कमिटीको हेटौंडामा सम्पन्न बैठकले मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा चुनाबका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटा रहेका छन् ।
यसैगरी मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ बाट नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा प्रचार बिभागका प्रमुख महेश कुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धर उम्मेदवारका लागि सिफारिस भएका छन् ।
शुक्रबार चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकले जिल्लाको चार प्रदेशसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ २३ जना सिफारिस गरिसकेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं.१ प्रदेशसभा ‘क’ बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने र सीता बिष्ट सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभा ‘ख’ बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक र कुमार केसी सिफारिस भएका छन् ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’ बाट बलराम बल, विष्णु ढकाल र चमेलीमायाँ वाइवा सिफारिस हुँदा प्रदेशसभा ’ख’ बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को सिफारिस भएका छन् ।