प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

मकवानपुरगढीमा विजय उत्सव मनाईयो

२०७९ माघ १०, मंगलबार १६:१८ बजे

हेटौंडा –  माघ १० गते अर्थात २६० वर्ष अघि । मुगल सैनिकबाट गोर्खाली माथी गरिएको आक्रमणको पथ प्रदर्शक पराजित सेन राजा दिग्वन्धन सेन थिए।  मिरकासिमसँग वार्ता मिलेपछि युद्द गर्न वंगाली सेनाको फौज सहित दिगवन्दन सेन मकवानपुरगढतर्फ लागे ।

राजा दिग्वन्धन सेन चुरियासम्म आएर पछि हटे । चुरिया डाँडा काटेर १८१९ पौष २७ गते मीरकासिमको फौजले हर्नामाडी चौकी आक्रमण गरे । उक्त आक्रमणमा करिब ३ हजार फौजिहरु खटाईएको थियो ।

यसरि आक्रमण गर्न आएको कुरा दहचोक गढीमा बसेका राजा पृथ्वीनारायण शाहलाई रातारात खबर पुग्यो । त्यसबखत पृथ्वीनारायण शाह कटेरी गैरीगाउँबाट मकवानपुरगढी चढ्नको लागि सजिलो बाटो बनाई रहेका थिए ।

यसैबिच गोर्खाली सेनाहरु गएर मिरकासिमको फौजमाथि ढुङगा मुढा बर्साए । कोहि क्याम्पमै र कोहि भारि बोकेर गढीतर्फ आइरहेको देखेर गोर्खालीका सेनापति नहर सिंह बस्न्यात, केहलर सिंह बस्न्यात, वंश राज पाँडे, जीव शाह, हर्कपन्त, रामकृष्ण, कुँवरको नेतृत्वमा गोर्खालीहरुले शिखरकटेरीमाथिबाट ढुङ्गा मुढा बर्साए ।

युद्द हुँदै जादा वि.स १८१९ माघ १० गते भएको अन्तिम लडाईमा मिरकासिमका नायव नवाव सेनाको हार भयो । यस युद्धमा मीरकासिमका १७०० जवान र गोर्खालीका ३० जना सेनाको मृत्यु भएको थियो ।

युद्धबाट गोर्खालीलाई ५०० सय बन्दुक, २ तोप, बारुद, गोला लाभ भएको थियो । गोर्खालीहरुले बिदेशी सैनिकमाथि विजय प्राप्त गरेकोले मनोबल उच्च भएको थियो ।

मुगललाई गोर्खालीहरुबाट पराजित गरेपश्चात राजा पृथ्वी नारायण शाहबाट मकवानपुरगढीमा पहिलो बिजय उत्सव मनाईएको थियो । सोहि दिनमा उक्त ऐतिहासिक दिनको सम्झनामा माघ १० गते विजयाउत्सव मनाउने गरिन्छ ।

आज मंगलबार माघ १० गते त्यहि ऐतिहासिक दिन हो, गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको थियो ।

आज मकवानपुरगढी दरवार परिसरमा  २६० औं विजय उत्सव मनाईएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा भएको विजयी उत्सव कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवि श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मकवानपुगढी दरबारको ऐतिहासिक महत्व रहेकोले संरक्षण गर्न आवश्यक रहेको बताईन् । उनले बजेटको लागि पहल गर्ने पनि बताइन् ।

वडा नम्बर २ को वडाध्यक्ष वखान सिंह लामाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।