हेटौँडा – सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । त्यसको सुधारका लागि मजदुर सङ्गठन अखिल नेपाल औद्योगिक मजदुर सङ्घ एकाइ समिति र समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योगले महाप्रबन्धकलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
उद्योगमा रहेको उद्योगको सुधारका लागि सकारात्मक पहल गर्नुको सट्टा निष्क्रिय रही कोइलाका कारण उत्पादन नै बन्द गर्ने वातावरण सिर्जना गरेको मजदुरले आरोप लगाएका छन् । उद्योगको सुधार, उत्पादन वृद्धिलगायतमा ध्यान नदिँदा उद्योगको ८० करोड रुपियाँ सञ्चित घाटा पुगेको र विभिन्न शीर्षक उद्योगले २० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै गत आर्थिक वर्ष २०७८÷७९ मा उद्योगलाई २३ करोड रुपियाँ घाटा भएको अनुमान गरिएको भन्दै करिब तीन लाख बोरा सिमेन्टको तयारी वस्तु मौज्दात रहेको भए पनि बिक्रीको अवस्था नगण्य रहेको अल्टिमेटम पत्रमा भनिएको छ ।
उद्योगका कर्मचारी अवकाश हुँदा उपदानबापत नागरिक लगानी कोषका उद्योगको सञ्चित गरी राखेको रकम सकिएको, अवकाश भएका छ सय कर्मचारीले उपदानबापतको रकम नपाएको र अवकाश हुने कर्मचारीले नियमअनुसार पाउनुपर्ने रकम भुक्तानी पाउनसमेत अनिश्चितता बढ्दै गएको मजदुरहरूले दाबी गरेका छन् ।
कोइला लगायतका आवश्यक कच्चा पदार्थको अभावमा बन्द रहेको उद्योग सञ्चालन गर्न, गत आर्थिक वर्षमा करिब १६ लाख बोरा मात्र सिमेन्ट बिक्री भएको र अझै तीन लाख बोरा सिमेन्टको तयारी वस्तु रहेकाले सिमेन्ट बिक्रीको अवस्थामा सुधार ल्याउन र उद्योगको किल्न, क्रसर, सिमेन्ट मिल, प्याकिङमा केही समययतादेखि रहेको समस्या समाधान गरी पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न माग गरिएको छ । उद्योगका चारवटै खानी बिनाअवरोध सञ्चालन गरी नियमित रूपमा चुनढुङ्गा खानी सञ्चालन गर्न, रिक्त दरबन्दीमा लोकसेवामार्फत पदपूर्ति गर्नुपर्नेलगायतका ११ बुँदे मागपत्र उद्योग व्यवस्थापनसमक्ष बुझाइएको छ ।यो समाचारगोरखापत्र दैनिकमा छ ।