प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढीमा १ करोड ९२ लाख लागतमा एकीकृत कृषि फार्म तथा तालिम केन्द्र निर्माण सुरु

२०८० भाद्र २६, मंगलबार १३:४२ बजे

हेटौंडा – माइती नेपालले निर्माण र संचालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार मकवानपुरको गढीगाउँपालिका ५ सानोसुकौरामा शिलान्यास गरिएको छ । माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा निर्माण गर्न लागेको कृषि फार्म तथा तालिम भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरे ।

शिलान्यास गरेपछि मुख्यमन्त्री जम्कट्टेलले एकीकृत कृषि परियोजना धेरै महत्वपूर्ण रहेको भन्दै मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रबद्र्धनसँगै ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग पु¥याउँने भएकाले प्रदेश सरकारले सहयोग गर्ने बताए । बामगती प्रदेश सरकारले विगतमा भन्दा फरक ढंगले काम गरिरहेको उल्लेख गर्दै उनले सरकारको लगानीबाट लक्षित वर्ग र समुदायमा उपलब्धी पुग्ने गरी प्रदेश सरकारले काम गरिरहेको पनि बताए ।

बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले कृषि तथा पशुपालन सम्बन्धी तालिमसँगै महिलाहरुलाई आयआर्जनमा जोड्ने योजना धेरै राम्रो रहेको भन्दै आवश्यक सक्दो सहयोग गर्ने बताइन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापती एवं प्रदेश सांसद ईन्द्रबहादुर बाँनियाले जिवनसँग संघर्ष गरिरहेका दिदीबहिनीहरुलाई सीपसँग जोडेर काम गर्ने राम्रो उदेश्यले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई जग्गा माग गर्नु भएकाले जग्गा उपलब्ध गराई दिएको बताए ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलाहरुलाई आर्थिक रूपमा सशक्तिकरण गर्ने बताइन् । ‘पहिले तालिम पछि मेसिन (सिलाई) दिएर पठाउँथे, अब उहाँहरुलाई गाई, भैंसी, बाख्रा दिएर पठाउँछौं,’ उनले भनिन्, ‘तालिम लिएपछि दिदीबहिनीहरुले दुध कहाँ लाने भनेर चिन्तै लिनु पर्दैन, हाम्ले नै किन्छौ र दुध किनेर बटर, चिज ईत्यादी बनाउँछौं ।’

१८–१९ बर्ष पहिलेदेखी महिलालाई बैदेशिक रोजगारको विरोध गरिरहेको भन्दै उनले अहिले बैदेशिक रोजगार टाउँको दुःखाई भईरहेको जिकिर गरिन् । कृषि फार्म तथा तालिम केन्द्र संचालनबाट चेलिबेटी बेचबिखन र बैदेशिक रोजगारीको रोकथाम हुने दाबी गर्दै बागमती प्रदेशकी पूर्व प्रदेश प्रमुख समेत रहनु भएकी कोईरालाले बैदेशिक रोजगारीमा ऐस, आराम नहुने भन्दै बैदेशिक रोजगारको नाममा चरम ठगी, शोषण र अत्याचार भईरहेकाले सचेत रहन युवकयुवतीहरुलाई आग्रह गरे ।

कार्यक्रममा माइती नेपालकी कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचविखन एउटा जटिल सामाजिक समस्याको रुपमा आएको र आर्थिक समस्या, गरिबी र महिला माथिको विभेद प्रमुख कारण देखिएकाले माइती नेपालले महिलाहरुलाई प्रविधीसहितको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र संचालन गरिने बताए ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बामगती प्रदेशकी सांसद कन्चनचन्द्र बाडे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री चन्द्र पहाडी, मकवानपुर सभापती बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एवं प्रदेश सांसद एकालाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुर्य प्रसाद सेढाईं, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, बागती प्रदेश प्रहरी कार्यालय र द कोकाकोला फाउण्डेशनका प्रतिनिधी लगायतको आतिथ्यता थियो ।

६५ रोपनी जग्गामा १ करोड ९२ लाख लागतमा आवासीय सुबिधा सहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म बनाउन लागिएको हो । सुकौरा एग्रो प्रालिले माईती नेपाललाई उक्त जग्गा १० बर्षका लागि निःशुल्क लिजमा उपलब्ध गराएको छ । एकीकृत कृषि फार्ममा व्यवस्थित तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाई पालन गरिने बताईएको छ ।

मानव बेचबिखनमा परेका र पर्न सक्ने सम्भावित समुदाय, क्षेत्रका जोखीम उन्मुखहरुलाई तालिम दिई समाजमा पुर्नस्थापना गर्नका लागि एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाको तयारी गरिएको माइती नेपालले जनाएको छ ।