प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपमहानगरपालिकाद्वारा बागमती गाउँपालिकालाई सवारी साधन हस्तान्तरण

२०८१ पौष ९, मंगलबार १९:१६ बजे

हेटौंडा –  हेटौंडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई दमकल, सुमाे र पिकअपसहितका सवारी साधन हस्तान्तरण गरेको छ।

सवारी साधन हस्तान्तरण समारोहमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र उपमहानगरका प्रवक्ता सबिन न्यौपानेको उपस्थिति रहेको थियो। उपमहानगरपालिकाले बागमती गाउँपालिकाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग स्वरूप यी साधन उपलब्ध गराएको हो।

हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतमले यस सहयोगले गाउँपालिकाको जनसेवा, विशेष गरी विपद् व्यवस्थापन र अन्य क्षेत्रमा सघाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रवक्ता सबिन न्यौपानेले गाउँपालिका र उपमहानगरबीच सहकार्य र सहमतिको वातावरणलाई मजबुत बनाउँदै नागरिकलाई सहज सेवा प्रवाहमा यो पहलले योगदान पुर्‍याउने बताए।

बागमती गाउँपालिकाले उपलब्ध गराइएका साधनलाई जनसेवामा उपयोगी बनाउने प्रतिबद्धता व्यक्त गर्दै हेटौंडा उपमहानगरलाई धन्यवाद ज्ञापन गरेको छ।