प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशमा मानव अधिकार हननका छ सयभन्दा बढी उजुरी

२०८० जेठ १३, शनिबार ०९:११ बजे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकार र अन्तर्गतका निकाय मानव अधिकार पालनाका सन्दर्भमा सतर्क र चनाखो हुनुपर्ने बताउनुभएको छ । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेटसँगै सबै काम मानव अधिकारमैत्री हुनुपर्नेमा जोड दिँदै बागमती प्रदेश सरकारले प्रदेशका नागरिकको हित हुने गरी काम गर्दै आएको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवका अवसरमा आयोगको बागमती प्रदेश कार्यालयले यहाँ शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले एउटाको अधिकारको कुरा गर्दा अर्कोको अधिकार हनन हुन सक्ने भएकाले यसमा सचेतता अपनाउनुपर्ने र अझ राजनीतिक नेतृत्व अप्ठ्यारोमा पर्ने बताउनुभयो ।

“वर्तमान संविधान, ऐन कानुन समावेशी र समानुपातिक सिद्धान्तमा आधारित र मानव अधिकारमैत्री छन्, कार्यान्वयनमा जटिलता छ. अप्ठ्यारो छ.” मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । उहाँले व्यवस्था परिवर्तन भए पनि काम गर्ने हाम्रो तौरतरिका उस्तै भएकाले समस्या भएको विचार व्यक्त गर्नुभयो । उहाँले पहुँच नभएका र आर्थिक, सामाजिक रूपमा पछाडि परेकाको मानव अधिकार हनन हुने गरेको भन्दै नेतृत्व पारदर्शी हुनु आवश्यक भएको बताउनुभयो ।

आयोगका प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा आयोगको प्रदेश कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको भन्दै ५० वटा उजुरी दर्ता भएको जानकारी दिँदै हालसम्ममा कार्यालयमा ६१४ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो । कार्यालयले मानव अधिकारसँग सम्बन्धित विभिन्न अधिकार सम्बन्धमा २१ पटक अनुगमन गरेको र नयाँ र पुराना गरी ७२ वटा उजुरीमा अनुसन्धान गरेको बताउनुभयो ।

उहाँले आयोग स्थापनाको २३ वर्षमा १३ हजार १७९ वटा उजुरी दर्ता भएको छ । सात हजार ५३८ उजुरी फस्र्योट हुँदा एक हजार ४०२ उजुरीमाथि कारबाहीका लागि सिफारिस भएको जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “मानव अधिकार उल्लघनका घटनामा सरकारलाई गरेको सिफारिसका आधारमा आयोगका सिफारिस कार्यान्वयन अवस्था सन्तोषजनक देखिँदैन ।”

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले मानव अधिकार सुनिश्चित गर्न सबै सचेत हुनुपर्ने बताउनुभयो । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले आर्थिक र सामाजिक रूपमा पछाडि परेका क्षेत्र र वर्गको हित र अधिकारका लागि काम हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला अदालत बार एकाइका अध्यक्ष अप्सरा बस्नेत, गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल पत्रकार महासघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलगायतले मानव अधिकारका विविध पक्षमा जानकारी दिनुभएको थियो । गोरखापत्र दैनिकबाट