हेटौंडा – बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य भारती पाठकले जनतालाई आत्मनिर्भर र राज्यलाई समृद्ध बनाउनको लागि वनमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने बताएकी छिन् । ग्रिन फाउण्डेसन नेपालको आयोजनामा उद्यमशिलता विकास र सम्भाव्यता विषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताइन् ।
बागमती प्रदेश सरकारले वन उद्यमको विकास गरेर जनता र प्रदेशलाई समृद्ध बनाउन उनले बागमती प्रदेश सरकारलाई आग्रह गरिन् । यद्यपी सरकारले कर उठाउने तर श्रोत बढाउँन मदन नगर्ने हो भने बढाइएको कर निमुखा उपभोक्ता प्रति अन्याय हुने उनको भनाई छ ।
उनले भनिन् “जडिबुटीमा आधारित र अन्य गैरकाष्टजन्य बस्तुबाट भएका उत्पादनहरु भने स्थानिय र राष्ट्रिय बजारमा आउने गरेका छन् । तर त्यसको प्रबद्र्दनको जिम्मा सरकारले लिनुपर्छ, श्रोत बढाएर कर बढाउनुपर्छ ।” देशभरीका ४ हजार जति वन समुहहरुमा वनमा आधारित साना उद्यमहरु संचालित रहेको उनले जानकारी दिए । उनको अनुसार गैर काष्टजन्य, काष्टजन्य र प्रशोधन लगाएतका साना उद्यमहरु संचालनमा आएका छन तर काष्टजन्य वन पैदावार प्रशोधन गरी उद्यम संचालन गर्ने कार्य सोंचे अनुरुप प्रभाबकारी भएका छैनन् ।
प्राकृतिक श्रोतको क्षेत्रमा भएका श्रोतहरुलाई उपयोग गर्ने गरी बागमती प्रदेश सरकारले काम गर्नुपर्ने बताउँदै वन उद्यमका लागि केन्द्रीय सरकारले पठाएको रकम पनि प्रदेश सरकारले अन्यत्रै खर्च गरेकोमा उनले आपत्ति जनाइन् ।
एमालेका वन तथा वातावरण बिभागको प्रमुख समेत रहेकी पाठकले बागमती प्रदेशमा मन्दिर मात्र बनाएर भन्दा पनि वन र वातावरणलाई जोडेर पर्यटक भित्रयाउन सकिने बताइन् । वनका पतकरलाई मल उत्पादनमा जोड दिन उनले आग्रह गरिन् ।
प्रदेशसभा सदस्य पाठकले वन धेरै वटा क्षेत्र श्रोत भएको क्षेत्र भएकाले यसबाट काम हुन जरुरी रहेको बताइन् । वनबाट नयाँ संभावनाको खोजी गर्नका लागि सांसद पाठकले आग्रह समेत गरिन् । वनमा खाली काठ निकाल्ने र बिक्री मात्र गर्ने भन्दा पनि उद्यमतिरलाग्नका लागि आग्रह समेत गरिन् ।