हेटौंडा – हेटौंडा बजार क्षेत्रमा सञ्चालित छ वटा होटलमाथि कारबाहीसहित जरिबाना गरिएको छ । खाद्य तथा दाना पदार्थ एवं कच्चा पदार्थको गुणस्तर तथा स्वच्छता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडासहितको टोलीले हेटौंडा बजार क्षेत्रका २६ वटा होटलको अनुगमन गरेकामा खाद्य ऐन नियमविपरीत सञ्चालनमा रहेको छ वटा होटलमाथि जरिबाना गरिएको हो ।
संयुक्त बजार अनुगमन टोली हेटौंडा उपमहानगरपालिका वडा नं. १, २, ४ र १० स्थित विभिन्न होटल तथा रेस्टुरेन्टको अनुगमनका व्रmममा सरसफाइमा लापर्बाही, नक्कली चुक अमिलोको प्रयोग, फोहोर अवस्थाको पिठो राखिएको, अखाद्य तेलको प्रयोग, म्याद गुज्रिएको पेय पदार्थ र टोमेटो पेस्ट राखेको भेटिएको थियो ।
टोलीले सरसफाइमा लापर्बाही गर/को भन्दै हेटौंडा–१ को गङ्गा मिठाई उद्योग, अन्नपूर्ण भोजनालय, हेटौंडा–४ को हिमालयन स्विट्स र वृन्दावन मिष्ठान्न भण्डारलाई ५/५ हजार रुपियाँ जरिबाना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका सूचना अधिकारी प्रगति अधिकारीले सरसफाइमा लापर्बाही गर्ने हेटौंडा४ को जयशम्भु मिष्ठान्न भण्डार र युनिभर्सल रेस्टुरेन्टलाई १०/१० हजार रुपियाँ जरिबाना गरिएको जानकारी दिए । उनका अनुसार इजाजत नभएको पेय पदार्थ, म्याद गुज्रिएको पेय पदार्थ, लेबल विवरण नभएको मसला र म्याद गुज्रिएको मकैको पिठो र पिज्जा पेस्ट, उत्पादन मिति नभएका सामग्री भेटिएकोले नष्ट गरी सरसफाइका लागि निर्देशन दिइएको छ ।