हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट युवा नेता रविन्द्र घिमिरेले दावी गरेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् ।
कांग्रेसबाट वडाध्यक्षको लागि आफुले दाबी गरेको घिमिरेले जानकारी दिए । ‘हेटौंडा उपमहानगरपालिका–२ को वडाध्यक्ष पदको लागि मैले नेपाली कांग्रेसबाट दाबी पेश गरेको छु’ उनले भने, ‘ संकटमा परेका जनतालाई नियमित सहयोग गर्दै आएको छु, अब जनप्रतिनिधि भएर जनताको सेवा गर्न चाहान्छु।’
लामो समयदेखि पार्टी र उद्योगी तथा व्यवसायीको क्षेत्रको राजनीतिमा क्रियाशील रहेका घिमिरेले वडाबासी दाजुभाई, दिदीबहिनी, आमाबुवाहरुको माग अनुसार नै आफुले वडाध्यक्षमा उम्मेद्वारी दिन लागेको बताए । ‘जनताको माग अनुसार मैले वडाध्यक्षमा दाबी गरेको हुँ, पार्टीले टिकट दिए म चुनाव सहजै जितेर देखाउँछु,’ उनले भने, ‘यसपटक मलाई टिकट दिएर पार्टीले जनताको सेवा गर्ने अवसर दिन्छ भन्नेमा म ढुक्क छु ।’
२०३७ सालमा जन्मिएका घिमिरे २०४९ सालमा नेपाली कांग्रेसमा आवद्ध राजनिती शुरु गरेका थिए । २०५४ मा क्रियाशिल, २०५९ मा नेविसंघको जिल्ला सदस्य, २०७१ मा तरुण दल मकवानपुरको कोषाध्यक्ष पार्टीलाई योगदान दिएका छन् । उनी अहिले पार्टीको वडासदस्य छन् ।
उद्योग बाणिज्य संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर, जिल्ला खेलकुद विकास समितिमा आवद्ध भएर काम गरेको घिमिरेसंग अनुभव छ । उनी रोटरी, जेसीज तथा लायन्स क्लबमा आबद्ध समाजसेवामा सक्रिय छन् ।