प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

डिल्लीपुरमा आवाश अधिकारबारे बहस

२०७९ जेठ ३०, सोमबार १६:१३ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा नागरिकको आवाशको अधिकारसम्बन्धी अन्तरक्रियाको आयोजना गरिएको छ । ईन्सेकको मानवअधिकार समूहको आयोजनामा भएको कार्यक्रममा वाडाअध्यक्ष दीपेन्द्र अधिकारीले स्थानीय सरकारले आवाशको अधिकार सुनिश्चित गर्ने बिभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिएका छन् ।

खरको छानो भएको २२ घरधुरीलाई खरको छानोमुक्त गर्ने काम गरिएको र ७१ घरधुरीलाई गरिब परिवारको सूचीमा सूचिकृत गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । शिक्षा र स्वास्थ्यको अधिकारका बारेमा पनि वडापालिकाले काम गरिरहेको उनले बताए ।

मानवअधिकार समूहकी संयोजक बिमला गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी–५ का वडा सदस्यहरु बुद्धिबहादुर स्याङ्तान, संजीता परियार, सरला थापाले नागरिकले शिक्षा, स्वास्थ्य, आवाशको अधिकार सुनिश्चित भएको महशुस गर्ने गरी काम गरिने जानकारी दिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने तयारी भएको बताइरहेको समयमा मनहरीमा पनि केही समयभित्र लालपूर्जा बितरण गरिने बताइएको छ ।

हाल नेपालमा करिब १४ लाख भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी रहेका छन् । सुकुम्बासी आयोगमार्फत् आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी सरकारले गरिरहेको बताइएको छ ।

कार्यक्रममा भोजसिद्ध मावि ब्यवस्थापन समिति अध्यक्ष गजाधर सुबेदी, प्रधानाध्यापक महेश रिजाल, पशुपतिनाथ मावि ब्यवस्थापन समिति अध्यक्ष माधब गौतम, प्रधानाध्यापक भानुभक्त आचार्य, मनहरी– ५ वडासचिव शान्तिमाया हिमडुङ, स्वास्थ्य ईन्चार्ज रेखा मगरलगायतले बोलेका थिए ।