प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

हेटौंडामा नागरिकता विधेयकको विरोधमा राँके जुलुस

२०७९ श्रावण १३, शुक्रबार १४:४६ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बागमती प्रदेशको राजधानी हेटौंडा राँके जुलुस प्रर्दशन गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व गठबन्धन सरकारले पास गरेको नागरिकता विधेयकको विरोधमा राप्रपाले हेटौंडाको सिमाचोकमा राँके जुलुस प्रर्दशन गरेको हो ।

राप्रपाका केन्द्रिय सदस्य दिपक बहादुर सिंहको नेतृत्वमा नागरिकता विधेयकको विरोधमा राँके जुलुस निकालिएको हो । राँके जुलुसको क्रममा प्रदर्शनकारीलाई प्रहरीले अवरोध गरेको थियो । अवरोध गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल समेत भएको थियो ।

राँके जुलुस राप्रपा मकवानपुरको पार्टी कार्यालयबाट कान्तिलोकपथ, बुद्धचोक हुँदै सिमाचोकमा कोणसभा भएको थियो । कोणसभामा राप्रपाका केन्द्रिय सदस्य दिपक बहादुर सिंहले नागरिकता विधेयक नेपालको हितमा नरहेकोले फिर्ता नलिएसम्म विरोध जारी राख्ने चेतावनी दिएका छन् । राष्ट्र द्रोही नागरिकता विधेयक खारेज नभए सरिता गिरी जस्ता भारतिय बुहारी धेरै जन्मिने र नेपालदेश भारतमा परिणत हुने बताए ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको थियो ।सरकारले नागरिकता विधयेक पास गरेपछि देशभर विरोध भइरहेको छ ।