काठमाडौं – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरू साथै देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागहरूमा भने मौसम सामान्यतया सफा रहेको छ।
दिउँसोपख सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित सूचनामार्फत बताएको छ।
रातीपख पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना देखाइएको छ।