हेटौंडा – स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न बिक्रीका लागि लैजाँदा प्रहरीले किसानसँग मूल्य अभिवृद्धि कर (भ्याट) बिल माग्न थालेपछि समस्या भएको छ। गाउँमै उत्पादन भएको सिमी, अदुवा, बेसार बिक्री गर्न लैजाँदा प्रहरीले अनिवार्य भ्याट बिल माग्न थालेकाले समस्या भएको साना किसानले गुनासो गरेका हुन्। मकवानपुरको बकैया गाउँपालिका- १२, ठिङ्गनबैँसीमा नाङ्लोमा चाउचाउ, बिस्कुट राखेर बिक्री गर्न लैजाँदासमेत प्रहरीले भ्याट बिल मागेको स्थानीयको गुनासो छ ।
काठमाडौं-हेटौंडा जोड्ने कान्ति लोकपथ सडकखण्डको बकैया-१२, ठिङ्गनमा रहेको इलाका प्रहरी कार्यालयले सामान्य विषयमा पनि टुःख दिने गरेको वीरबहादुर घलेले बताए। “ठिङ्गन गाउँबाट ठिङ्गनभैंसीमा खेतीपाती गरेका छौँ, आफ्नै खेतबाट धान ल्याउँदासमेत प्रहरीले वडा कार्यालयको सिफारिस माग्ने गरेको छ." घलेले भने। आफ्नै खेतबारीबाट धान, सिमी, ल्याउँदा पनि इलाका प्रहरी कार्यालयले वडा कार्यालयको सिफारिस मागेर दुःख दिएको उनको गुनासो छ ।
माइला वाइबाले भैँसी थारो भएपछि बेच्ने क्रममा भैंसीको क्वारेन्टाइनसहित वडाको सिफारिस प्रहरीले मागेको बताए । “गाउँमा पालेको खसीबोका, भैंसी बेच्न पनि मुस्किल भइसक्यो, यहाँ व्यापारीहरू किन्न आउन छाडे, प्रहरीले क्वारेन्टाइन, वडाको सिफारिस र भ्याट बिल माग्दा हामी गाउँले समस्यामा परेका छौं” वाइबाले भने ।
मधेश प्रदेशस्थित पथलैयाबाट आउने,हेटौंडाको रातोमाटे, चौघडा हुँदै जाने र सातदोबाटो ललितपुरको भट्टेडाँडा प्रहरी नाका हुँदै आउने सवारीसाधनहरू पनि ठिगनमा मात्रै कारबाहीमा पर्ने गरेका छन् । अन्य प्रहरी नाकाबाट अनुमति लिएर आएका सवारी इलाका प्रहरी कार्यालय ठिगनमा कारबाहीमा पर्ने गरेको सवारीचालकको गुनासो छ ।
दैनिक उपभोग्य सामग्री काठमाडौँ पुयाएर ठिङ्गनको बाटो फर्कदै गर्नुभएका वीरगन्जका राजेशकुमार पण्डित प्रहरीले गाडी रोकिदिएपछि समस्यामा परेका हुन् । १२ चक्के गाडीलाई कान्ति लोकपथमा चलाउन रोक लगाएको भन्दै मकवानपुरको प्रहरीले ठिङ्गन नाकामा दिनभर रोकेर राखेपछि उनी समस्यामा परेका हुन् ।
धादिङ गल्छी-२ का नवीन पुलामी मगर सिमेन्ट लिनका लागि हेटौंडातर्फ दिप्पर लिएर आउँदै गर्दा प्रहरीले ठिगनमा दिनभर गाडी रोकेर राखिदिएको थियो। कान्ति लोकपथ सडकखण्ड हुँदै ललितपुर नाकाबाट आएका सवारी मकवानपुरको ठिङ्गनमा प्रहरीले रोकेर दिनभर राख्न थालेको छ। आउने नाकामै बन्द गरिएको जानकारी दिएको भए अर्को बाटो आउँथ्यो थाहा थिएन ठिगनमा आएपछि गाडी रोकियो प्रहरीले दिनभर गाडी राखेर दुःख दियो." मगरले भने।गोरखापत्र दैनिकबाट