हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुपूर्णिमा (होली) पर्वमा कसैको इच्छाविपरीत होली नखेल्न र रङ नलगाउन आग्रह गरेको छ ।
फागुपूर्णिमा पर्वलाई सभ्य, शिष्ट र मर्यादित रूपमा मनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपालीहरूको साझा पर्व फागुपूर्णिमामा कसैको इच्छाविपरीत रङ नलगाउन र जबरजस्ती होली नखेल्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले एक सूचना जारी गर्दै फागुपूर्णिमा पर्वमा कसैको पनि इच्छाविपरीत रङ, लोला, पानी छ्याप्ने र मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने कार्य नगर्न आग्रह गरेका छन् ।
सार्वजनिक स्थलमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने गतिविधि नगर्न नगराउन पनि सूचनामा भनिएको छ ।