हेटौंडा – मकवानपुरको हेटौंडाबाट अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन् ।
सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।