प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सवारी दुर्घटनाः नजिकै झाडीबाट गाँजा बरामद, उठेर भाग्ने घाइते कर्‍यापझ्याप !

२०८० पौष ११, बुधबार १२:४७ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको महनरी गाउँपालिका–९ रमनटारमा भएको दुर्घटनामा घाइते उद्धारका लागि पुगेको प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ भने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नं.७ शर्सि बस्ने २५ बर्षीय हरी प्रजा, पछाडि सवार सोही स्थान बस्ने १८ बर्षीय प्रस्थान प्रजा र ट्याङकर चालक रहेका छन् ।

सोमबार रमनटारस्थित सडक किनारमा रोकिराखेको ना ४ ख ९४३३ नम्बरको ट्याङ्करमा बा ४० प ८२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

उद्धार गर्न घटनास्थलमा पुगेको प्रहरीको टोलीले दुर्घटनामा परेको मोटरसाइकल र घाइते फेला नपरेपछि घटनास्थल नजिकै झाडीबाट १० किलो लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनास्थलमा घाइते फेला नपर्नु, तर नजिकै झाडीमा लागुऔषध फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानको क्रममा मोटरसाइकलमा सवार ब्यक्तिहरु मनहरीमै आफन्तको घरमा रहेको जानकारी पाएपछि प्रजाद्वयलाई घाइते अवस्थमा फेला परेको थियो ।

मोटरसाइकल चालक हरीलाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारर्थ भरतपुर अस्पताल चितवन पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटसाइकल पछाडि सवार प्रस्थान र टयाङकर चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।