प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अनन्त र नवयुगको गोलमा नेपालको जित

२०७९ चैत्र ८, बुधबार १४:१४ बजे

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–० को जित दिलाए ।नवयुगले करिब ३५ यार्डबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ भने चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ ।

सिंगल राउन्ड रोबिन पद्दतीमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनलमा खेल्नेछन् । विजेता टिमले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेताले तीन हजार डलर पाउने छ । फाइनल खेल चैत्र १७ गते साँझ ५ः३० बजे हुनेछ ।