हेटौंडा – पुसको अन्तिम साता हुने पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगितामा १० टिमको सहभागिता हुने भएको छ ।
शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा घरेलु दूई, एक विदेशी र सात एडिभिजन सहित १० वटा टोलीको सहभागिता रहने आयोजक बागमती खेलकुद विकास समितिले जानकारी दिएको हो ।
एडिभिजन टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब र जावलाखेल युथ क्लब सहभागी रहनेछ । त्यस्तै घरेलु टोली आयोजक बागमती गाउँपालिका, मकवानपुर–११ र अमेरिकी टिम भुट्नीज युथ स्पोर्ट्सको सहभागी रहनेछ ।
प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साविक विजेता थ्री स्टार क्लबले यस पटक सहभागिता जनाउने छैन ।
प्रतियोगिता पुस २४ गतेदेखि माघ ३ गतेसम्म बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडीलाई नगद ५१ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विधातर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा करिव ७१ लाख खर्च हुने आयोजकले जनाएको छ ।