हेटौंडा – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ (क) की प्रदेश सभा उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनले चुनाव जिते जनताले चाहे अनुसारकै विकास हुने बताएकी छन् । मकवानपुरको भीमफेदी गाउँपालिका ६ मा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले संविधानको रक्षा र जनमैत्री विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउँनुपर्ने बताएकी हुन् ।
‘संविधानको विरोध गर्ने र झुटो आश्वासन दिने केपी ओली(नेकपा एमाले)लाई विश्वास गर्नुहुन्न,’ उनले भनिन्, ‘लोकतान्त्रिक बाम गठबन्धनले जिते भीमफेदी गाउँपालिकासहित देशैभर जनताको चाहना अनुसार विकास हुनेछ ।’ आफुलाई माओवादीले मात्र नभई लोकतान्त्रिक बाम गठबन्धनले नै उम्मेदवार बनाएको भन्दै नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर ईन्चार्ज समेत रहनु भएकी मोक्तानले देश विकासको लागि आफुहरुले भुमिका खेल्ने बताइन् ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलको विशेष आतिथ्य रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य लवशेर विष्ट, नेपाली काँग्रेस मकवानपुरका पूर्व क्षेत्रीय सभापती यतिराज सापकोटा, क्षेत्रीय उपसभापती रन्जन दाहाल, भीमफेदी सल्लाहकार नारायण थापा, माओवादी केन्द्रका भीमफेदी ६ का वडा अध्यक्ष गोपाल घलान लगायतको आतिथ्य रहेको थियो । यसैबिच, भीमफेदी गाउँपालिका ५ मा लोकतान्त्रिक बाम गठबन्धन साझा सम्पर्क कार्यालय उद्घाटन र चियापान कार्यक्रम पनि सम्पन्न भएको बताईएको छ ।