हेटौंडा – हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनल खेल स्थगित भएको छ ।आज बुधबार साँझ ४ बजेको लागि घरेलु टोली विजय युथ र नव जनजागृती युथ क्लबविचको खेल तय भएको थियो ।
भारी वर्षाका कारण हेटौंडा–५ को पिप्ले क्याम्पा रंगशाला खेल खेल्न नमिल्ने भएपछि विजय युथ र नव जनजागृतीबिचको खेल स्थगित गरिएको हो । स्थगित विजय युथ र नव जनजागृतीबिचको खेल भोली(विहिबार) विहान साढे ८ बजे हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
त्यस्तै प्रतियोगिता अन्तर्गत एभिनियर फुटबल क्लब क्यामरुन र चर्च ब्वाइज फुटबल क्लबबिचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल पनि विहिबार अपराह्न ४ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ ।
बिहिबारको खेलमा जित हात पार्ने दुबै टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ । पहिलो खेलमा जित हात पर्ने टोली नेपाल पुलिस क्लबसंग भिड्ने छ भने दोस्रो खेलमा विजयी हुनेटोली साविक विजेता त्रिभुवन आर्मीसंग भिड्नेछ ।
यसअघि भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले एपिएफ क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । दोस्रो क्वाटरफाइनल खेलमा पुलिसले मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गरेको थियो ।
मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले बुलेट बाईक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ ।प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।
