प्रहर खबर
 २०८१ बैशाख ७, शुक्रबार    

प्रदेश खेलकुदः पुरुष फुटबलको उपाधि मकवानपुरको पोल्टामा

२०७८ चैत्र ६, आईतबार १४:०३ बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फको उपाधि (स्वर्ण) घरेलु टोली मकवानपुरले जिल्ला जितेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा मकवानपुरले ललितपुरलाई ट्राईब्रेकरमा ३–० गोलले हराउँदै उपाधि चुमेको हो ।

निर्धारित समयमा दुबै टोलीले दुई–दुई गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा ललितपुरलाई खेलको दोस्रो मिनेटमा विक्कि महर्जनले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको शुरुवातीमै अग्रता बनाएको ललितपुरको अग्रता तीन मिनेट पनि टिकेन । खेलको ५ औँ मिनेटमा मकवानपुरका ललित चौलागाईं गोल गर्दै बराबरीमा ल्याए । खेलको ३५ औँ मिनेटमा समिराज थोकरले गोल गर्दै मकवानपुरलाई पहिलो हाफमा २–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा मकवानपुरले बनाएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन । मकवानपुरे खेलाडी सम्हालिन नसकेको फाइदा उठाउदै ललितपुरका रोहित गिरीले ७८ औँ मिनेटमा खेल बराबरीमा ल्याए । बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा मकवानपुरका लागि अमिर श्रेष्ठ, समिराज थोकर र संजिब अर्यालले जाली चुमाउँदा उता ललितपुरका कुनै खेलाडीले पनि गोल गर्न सकेनन् ।

मकवानपुरलाई उपाधि दिलाउनका लागि फाइनल खेलमा पेनाल्टी बचाउ गरेका गोलरक्षक अनिश देउला म्यानअफ द म्याच घोषित भए ।

बिजेता टोली मकवानपुरले नगद एक लाख, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्दा उपविजेता ललितपुर नगद ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी मकवानपुरका समिराज थोकर घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे । उनले प्रतियोगिताको चार खेलमा ५ गोल गरेका थिए । उनले पहिलो र दोस्रोमा एक–एक, तेस्रो अर्थात सेमिफाइनल खेलमा दुई र फाइलनमा एक गोल गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगितामा पुरुष फुटबलतर्फ प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ ।