प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मुलुकले समन्वयकारी नेता गुमायो : बागमती प्रदेश प्रमुख शर्मा

२०८० भाद्र २६, मंगलबार १५:१९ बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानसभाका अध्यक्ष, नेकपा ९एमाले० का उपाध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङको आज विहान हृदयघातका कारण भएको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले नेम्वाङको असामयिक निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । प्रदेश प्रमुख शर्माले नेम्वाङको निधनबाट मुलुकले एक कुशल सांसद एवम् असल, मृदुभाषी, समन्वयकारी नेता गुमाएको उल्लेख गरेका छन् ।

‘यस दुखद् घडीमा सरल नेता नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ प्रमुखको श्रद्धाञ्जलीमा भनिएको छ । प्रमुखले शोक विज्ञप्तिमा भनेका छन्,‘उहाँकी जीवन संगिनी तथा नेम्वाङ परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’