हेटौंडा – बागमती प्रदेशसभा सदस्यहरुको सपथग्रहण आज हुँदै छ । प्रदेशसभा सचिवालयमा आज दिउसो २ बजे एक सय नौ जना प्रदेशसभा सदस्यहरुको सपथग्रहण हुन लागेको हो । सपथग्रहण बागमती प्रदेशसभाका जेष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले गराउने छन् ।
बुधबार ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सपथग्रहण गरेका थिए । प्रदेशसभा सदस्यहरुले पनि सपथग्रहण गर्ने कार्यतालिका तय भएको हो । आजको सपथग्रहणका लागि सबै तयारी पुरा भएको प्रदेशसभा सचिवालयका सचिब कृष्णहरी खड्काले बताए । सपथग्रहणपछि सभामुख चयन गर्ने, मुख्यमन्त्री चयन गर्ने नयाँ सत्ता गठवन्धनका दलहरुको तयारी रहेको छ ।
७२ वर्षीय ढुंगनाले बागमती प्रदेशसभाले सभामुख चयन नगरेसम्मको लागि प्रदेशसभाको अध्यक्षता ग्रहण गर्नेछन् । ढुङ्गाना २००६ असोज २ गते जन्मेका थिए । उनि प्रदेशसभामा नुवाकोट क्षेत्र नंबर २ को १ बाट विजयी भएका हुन् ।
बागमती प्रदेशसभा कांग्रेससँग ३७, एमालेसँग २७, माओवादी केन्द्रसँग २१, राप्रपासँग १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो पार्टीसँग २ सांसद छन्।