हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका र ठेकेदार कम्पनीबीच करिब करिब साँढे तीन करोडमा ९७ हजार १११ घनमिटर नदिजन्य पदार्थ सामरीखोलाबाट निकाल्ने सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सामरीखोलाबाट नदिजन्य पदार्थ निकाल्न सुरु गर्यो । जेठ महिनाको १२ गते ९४ हजार घनमिटर उत्खनन् भएको एक रिर्पोट बाहिरियो ।
उक्त रिर्पोटमा उल्लेख भएअनुसार करिव ३ हजार घनमिटर मात्रै उत्खनन् गर्न बाँकी थियो । ठेकेदार कम्पनीले खोला उत्खननलाई झन तिब्रगतीमा अगाडी बढायो । त्यहि गतिमा हप्तादिन भन्दा बढी उत्खनन् कार्य हुँदा पनि नरोकिएपछि विरोधका आवाज उठ्यो । सम्झौतामा उल्लेख भएको भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् भएकोले छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने आवाज उठ्यो ।
सार्वजनिक रिर्पोट वडाप्रविधिकले सर्बेक्षण गरेर तयार पारिएको पालिकाको स्रोतको दाबी छ । पालिकाको प्राविधिकले नाप्दा कम र वडाप्राविधिकले नाप्दा बढी कसरी आयो ? अनुसन्धानको विषय बन्यो । चर्को विरोधपछि पालिकाले उत्खनन् कार्यलाई रोकी अनुगमन गरेर प्रतिवेदन बनाउने र
प्रतिवेदन अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय भयो । त्यो निर्णय अनुसार सर्वदलिय समितिले अनुगमन गरी प्रतिवेदन बनायो । यस विषयमा विवाद निष्किएपछि प्रतिक्रिया लिदा सोही दिन साँझ बास्तविक विवरण सार्वजनिक गर्ने मकवानपुरगढी गाउँपालिकाका प्रवक्ता दिपेश दाहालले बताएका थिए । त्यो प्रतिक्रिया दिएको करिब डेढ महिना वित्यो, तर, प्रतिवेदन सार्वजनिक भएको छैन ।
मकवानपुरगढी गाउँपालिकाको प्रमुख आय स्रोत नदिजन्य स्रोतको विवादको विषयमा तयार पारिएको प्रतिवेदन टेबुलमै थन्क्याउनु राम्रो पक्ष नभएको स्थानीयहरु बताउँछन् । उनिहरु भन्छन् ,‘पालिकाले सेटिङ मिलाउँदै हो भने सेटिङ भन्नु पर्यो, तत्र प्रतिवेदन सार्वजनिक हुनु पर्यो।’ सम्झौता मिचेको देखिए उल्लेखित कानुन बमोजिम कारवाही समेत गरिनु पर्ने स्थानीयहरुको माग छ ।
आइतबार सार्वजनिक गछौँः गाउँपालिका
आउँदो आइतबार कार्यपालिकाको बैठक बसेर उक्त अनुगमन प्रतिवेदन सार्वजनिक गरिने मकवानपुरगढी गाउँपालिकाका प्रवक्ता दिपेश दाहालले बताए । ‘आज बस्ने भनिएको बैठक बस्न सकिएन, आइतबार बस्छौँ, प्रतिवेदन सार्वजनिक गछौँ,’ उनले भने ।
प्रतिवेदनको विषयमा कार्यपालिकाको बैठकले निर्णय गरेर जिल्ला समन्वय समिति पठाइने र के गर्ने, के नगर्ने जिल्ला समन्वय समितिले नै गर्ने प्रवक्ता दाहालले बताए । उक्त विषयमा गाउँपालिकाले केही गर्न नसक्ने उनको भनाई छ ।